PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

सिमरा गोल्डकप : आर्मी फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त



राधेश्याम पटेल

सिमरा गोल्डकप : आर्मी फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

वीरगंज : त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। बिहीवार भएको दोश्रो सेमिफाइनलमा वीरगंज यूनाईटेड क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले रुस्लान थ्री स्टार क्लबसँग उपाधि भिडन्त पक्का गरेको हो।

आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगंज युनाइटेडका विष्णु सुनारले एक आत्मघाती गोल उपहार दिए।

साविक विजेता संकटा क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको वीरगंज यूनाईटेड विभागीय टिम आर्मी सामु निरिह बन्यो। करिब ८ हजार घरेलु दर्शकमाझ आर्मी विरुद्ध उत्रिएको वीरगंज यूनाईटेडलाई त्रिभूवन आर्मीले पुरै समय दबाबमा राख्यो।

पहिलो हाफमा १-० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले खेलको ३८औं मिनटमा भरत खवासको पासमा गोल गरेका थिए।

खेलको ६०औं मिनटमा वीरगज यूनाईटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २-० को अग्रता बनाएको थियो। आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयास गरेका सुनुवारको प्रयासले गोलपोष्टको दिशा लिंदा वीरगंज यूनाईटेड थप दवावमा पर्‍यो।

वीरगंज विरुद्ध हावी भएको आर्मीले ६७औं मिनटमा अर्को गोल थप्यो। आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए। टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दिप लामाले सिमरा गोल्डकपमा त्रिभूवन आर्मीको फाइनल यात्रा तेश्रो पटक सुनीश्चित गरे।

खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका दिनेश हेम्जन घोषित भए। उनले ५ हजार नगदसहित म्यान अफ दि म्याचको ट्रफी हात पारे।

त्रिभूवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो। त्रिभूवन आर्मीले शनिवार सिमरा रंगशालामा उपाधिका लागि थ्री स्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell