काठमाडौंः हंगेरीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले अाफ्नो अोहदाको प्रमाणपत्र त्यहाँका राष्ट्रपति समक्ष पेश गरेका छन्।
बुडापेस्टस्थित सान्दोर राजप्रासादमा आयोजित विशेष समारोहमा राष्ट्रपति जानोस अडेरसमक्ष राजदुत खनालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेको बर्लिनस्थित नेपाली दुतावासले विज्ञप्ति जारी गरी जनाएको छ।
जर्मनका लागि नेपालका राजदुतसमेत रहेका खनाललार्इ हंगेरीका लागि नेपालका गैरअावासीय राजदुतको रूपमा खटाइएको हो। हंगेरीमा नेपालको अावासीय दुतावास छैन्।
राजदूत खनालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट हंगेरी सरकार र त्यहाँका जनताप्रति सद्भाव, मैत्री र सहयोगको सन्देश प्रवाह गरेको दुतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।
राजदूत खनालले ५५ वर्ष पुरानो नेपाल–हंगेरी कूटनीतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सकिने प्रशस्त सम्भावना रहेको चर्चा गर्दै व्यापार, पर्यटन र सांस्कृतिक सहयोग अभिवृद्धिमा जोड दिए। नेपाल र हंगेरीबीच सन् १९६१ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।
सो क्रममा राष्ट्रपति जानोसले हंगेरी र नेपालबीच पछिल्ला वर्षमा व्यापार, पर्यटन र आर्थिक सहयोगका क्षेत्रमा सहयोग वृद्धि भएकोमा खुसी व्यक्त गरेका थिए।
समारोहमा हंगेरी सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो।
जर्मनीका लागि अावासीय राजदुत खनाल नेपालका लागि स्लोभाक रिपव्लिक, पोल्याण्ड तथा होली सीका गैरअावासी राजदुत समेत हुन्।