
काठमाडौं : अर्को महिना जिम्वावेमा हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा नेपालले घरेलु टोली जिम्वावेसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ।
डिभिजन टू को उपविजेता बनेपछि समूह बी मा परेको नेपालले मार्च ४ मा जिम्वावेसँग पहिलो खेल खेल्ने पक्का भएको छ।
त्यसअघि नेपालले फेब्रुअरी २७ मा युएईसँग तथा मार्च १ मा हङकङसँग वार्म अफ म्याच खेल्ने तालिका छ।
फोटो : आइसीसी
नेपालले वर्ल्डकप क्वालिफायरको दोस्रो खेल मार्च ८ मा स्कटल्याण्डसँग, तेस्रो खेल मार्च १० मा अफगानिस्तानसँग तथा चौथो खेल मार्च १२ मा हङकङसँग खेल्नेछ।
नेपाल यस समूहमा शीर्ष तीन स्थानमा रहनेसके क्वालिफायरको सुपर सिक्स राउण्डमा प्रवेश गर्नेछ। जहाँ समूह ए का पनि शीर्ष तीन टोली हुनेछन्।
समूह ए मा वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स, पपुवा न्युगिनी र युएई छन्।
सुपर सिक्सको लिग खेलपछि शीर्ष दुई स्थानमा रहदै फाइनल पुग्ने टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वर्ल्डकपमा छनोट हुनेछन्।
यस्तै चार टेष्ट प्लेइङ नेशन र नेदरल्याण्ड्सबाहेक अन्य पाँच टिममध्ये शीर्ष ३ स्थान हात पार्ने एसोसिएट टिमले वान डे स्ट्यास पाउनेछ।
यदी नेपालले त्यो उपलब्धी हासिल गर्न सके पहिलो पटक वान डे स्ट्याटस पाउनेछ। आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएको हैसियतले नेदरल्याण्ड्सले भने यसअघि नै वान डे स्ट्याटस सुरक्षित गरिसकेको छ।
वर्ल्ड कप क्वालिफायरमा भने नेदरल्याण्ड्स र नेपालले खेल्ने म्याचले वान डे मान्यता पाउने छैन।
चार टेष्ट प्लेइङ नेशनसहित स्कटल्याण्ड, हङकङ, युएई र पुपुवा न्युगिनीसँग अहिले वान डे मान्यता रहेका कारण ति टिमले खेलेका खेलले वान डे मान्यता पाउनेछ।
यस्तै वर्ल्ड कप क्वालिफायर खेल्ने १० मध्ये नेपाल, हङकङ र पुपुवा न्युगिनीले अहिलेसम्म वर्ल्डकप खेलेका छैनन्।
वर्ल्ड कप क्वालिफायरमा नेपालको खेल
मार्च ४ : भर्सेस जिम्वावे - क्विन्स स्पोर्ट्स क्लब, बुलावायो
मार्च ८ : भर्सेस स्कटल्यान्ड - क्विन्स स्पोर्ट्स क्लब, बुलावायो
मार्च १० : भर्सेस अफगानिस्तान - बुलावायो एथ्लेटिक क्लब, बुलावायो
मार्च १२ : भर्सेस हङकङ - क्विन्स स्पोर्ट्स क्लब, बुलावायो
वार्म अफ म्याच
फेब्रुअरी २७ : भर्सेस युएई : क्वेक्वे स्पोर्ट्स क्लब, क्वेक्वे
मार्च १ : भर्सेस हङकङ : क्वेक्वे स्पोर्ट्स क्लब, क्वेक्वे