PahiloPost

Mar 29, 2025 | १५ चैत्र २०८१

सांसद भन्छन् प्रदेश ३ को राजधानी हेटौडा गलत, सार्नुपर्छ



रासस

सांसद भन्छन् प्रदेश ३ को राजधानी हेटौडा गलत, सार्नुपर्छ

भक्तपुर : प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन्। 

उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन्।
    
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को भौगोलिक अवस्था नियाल्दा हेटौडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बास्कोटाले बताए।

प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिंदै उनले यस प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुने दाबी समेत गरे। 
    
हेटौडा कुनै पनि हालतमा राजधानी हुन नसक्ने भन्दै दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने धारणा व्यक्त गरे। हेटौडामा अहिले स्थायी राजधानीका लागि खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाइ थियो।
    
भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा– १ का सदस्य शशिजंग थापाले काम चलाउ सरकारको प्राविधिक टोलीलेसमेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरिए पनि सरकारका केही मन्त्रीको चलखेलले हेटौडा लगिएको आरोप लगाए। 

उनले प्रदेश सभामा यो विषयले एजेण्डाका रुपमा उठान पाउनासाथ प्रदेश नं ३ को राजधानी भक्तपुर अथवा काभ्रे हुनेसमेत बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell