
- भरत केसी -
पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकपछि उनले प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गरे।
मुख्यमन्त्री पोख्रेलले प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि बढ्ने सरकारको योजनासमेत रहेको र जनचाहनालाई सम्बोधन गर्ने ऐतिहासिक चरणमा प्रवेश गरेको बताए।
प्रदेशको विकास र समृद्धिको मुख्य आधार प्रदेश नं ५ मा महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्र प्रसस्तै रहेको उल्लेख गर्दै उनले यो प्रदेशमा पर्यटनसँगै औद्योगिक र कृषिमा आधुनिकीकरण गरेर समृद्धि ल्याउन सकिने योजना रहेको बताए।
केही दिनमै यस प्रदेशको स्वयत चित्र सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले यसबाट पाँच वर्षअघि के प्राप्त गरेका थियौं र के छाडेर जाँदै छौँ भन्ने तुलना गर्न सकिन्छ भने।
उनले सिस्ने हिमालदेखि मर्चवारसम्म र त्रिवेणी सुस्तादेखि बर्दियाको राजापुरसम्म फैलिएको, एसियाकै सबैभन्दा ठूलो उपत्यकाका रुपमा रहेको दाङ उपत्यका यसै प्रदेशमा रहेको र शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका तिलौराकोट, रामग्राम, देवदह, कुदान, निग्लिहवाजस्ता बुद्धकालीन सभ्यताका जीवन्त भग्नावशेषहरु यसै प्रदेशका माटोमुनि रहेका र यिनलाई अन्वेषण गरेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना औँल्याए।
मुख्यमन्त्री पोख्ररेलले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मथलो लुम्बिनीसँगै जनयुद्धको आधार क्षेत्र यही प्रदेशमा रहेको बताउँदै यी क्षेत्रको योजनाबद्ध विकास र प्रवद्र्धन गरेर पर्यटन गन्तव्य बनाउने मुख्य योजनामा प्रदेश सरकार रहेको जानकारी गराए।
उनले स्वर्गद्वारी प्यूठान, पाणिनी तपोभूमि, सुपादेउराली, रेसुंगा गुल्मी, धारापानी, पाण्डवेश्वर, चौघेरा रतननाथलगायतका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नु प्रदेशको समृद्धिका लागि प्रमुख आधार बन्ने स्पष्ट पारे।
लुम्बिनी गुरुयोजना सम्पन्न गर्दै लुम्बिनी बृहत्तर गुरुयोजना कार्यान्वयन गरी विकास अगाडि बढाउने, पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा शैक्षिक पार्क निर्माण गरी प्राकृतिक अध्ययनको थलो बनाउने, जगदीशपुर तालको संरक्षण गर्दै चरा अध्ययनको केन्द्र बनाउने, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सीमावर्ती क्षेत्रको नजिक हिल स्टेशनहरू निर्माण गर्ने, जातीय, भाषिक विविधतालाई समेट्दै विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने, प्रदेशको कला, संस्कृतिको संरक्षण गर्दै प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने, प्रदेशभित्रका ऐतिहासिक स्थानको घटना झल्काउने गरी अनुसन्धानमा सघाउ पुर्याउनेमा उनले जोड दिए।
प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेशसभाको अधिकारको प्रसङ्ग उठाउँदै प्रदेशको राजधानी हेर्न लायक बनाउनेमा जोड दिँदै मुख्यमन्त्री पोख्रेलले भने, “२०/२५ वर्षपछि पनि हेर्नलायक स्थानलाई राजधानी बनाउने हो, सबैलाई चित्त बुझ्ने गरी नै राजधानी बन्छ।”
उनले प्रदेशका तीन ठूला शहर नेपालगञ्ज–कोहलपुर, घोराही–तुल्सीपुर र बुटवल–भैरहवाजस्ता शहरलाई जोडेर महानगरका रुपमा विकास गरिने योजना पनि सार्वजनिक गरे।
प्रदेशभित्रको सडक सञ्जाल पर्याप्त नभएको बताउँदै पूर्व–पश्चिम राजमार्गलाई छ लेन बनाउने र हुलाकी राजमार्गलाई चार लेन बनाउने पोखरा–लुम्बिनी र परासी–बर्दिया रेलमार्ग निर्माण गरी रेल सञ्चालन गर्ने, लुम्बिनीबाट अरू बुद्धस्थलसम्म मोनोरेल सञ्चालन गर्ने, पाल्पादेखि रोल्पासम्म प्रदेशस्तरीय मध्य पहाडी राजमार्गको विकास गरिनेसमेत मुख्य मन्त्री पोख्रेलले स्पष्ट पारे।
भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सम्पन्न गरी नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्ने, दाङको विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने र विकट पहाडी क्षेत्रमा हेलिप्याड निर्माण गरिनेमा उनले जोड दिए।
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशमा आधुनिक प्राविधिक विश्वविद्यालय स्थापना गर्नेजस्ता विषयमा पनि मन्त्री पोख्रेलले चर्चा गरे।