नेपालगन्ज : नेपाल पुलिस क्लब र बंगलादेशको इफाट महिला भलिबल टोलीले पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा शुक्रबार जित हासिल गरेका छन्।
नेपालगन्ज कभर्ड हलमा भएको खेलमा पुलिसले भारत देहरादुनको टिमलाई २५–१, २५–१४, २५–१७ ले सहजै हरायो। खेलमा पुलिसकी कामना विष्ट 'वुमन अफ द म्याच' घोषित भइन।
यसैगरी अर्को खेलमा घरेलु टिम बंगलादेशको इफाट महिला भलिबल टोलीसँग पराजित भएको छ। इफाटले न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई २७–२५, २५–२२, २६–२४ ले हरायो। बंगलादेशी टोलीकी इसु 'वुमन अफ द म्याच' चुनिइन्।
शुक्रबारको नतिजासँगै नेपाल पुलिस क्लब र शिवम न्यू डायमन्ड एकेडेमी समूह बी बाट सेमिफाइनल पुगेपनि डायमन्ड र भारतीय टोलीले समुहको अन्तिम खेल खेल्न बाँकी छ।
समान एक खेल जित्दै डायमन्ड र पुलिस अन्तिम चारमा पुगेका हुन्।
उता समूह ए अन्तर्गत घरेलु टोलीले सुरुआतमा उत्कृष्ट खेल खेल्ने कोसिस गरेपनि समन्वय नमिल्दा जित हासिल गर्न सकेन।
प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा एपीएफ र न्यु इन्द्रेणी बागेश्वरी स्पोर्टस क्लबले खेल्नेछन्। अर्को खेलमा न्यू डायमण्ड र भारतको स्पोर्टस ट्रेनिजले प्रतिस्पर्धा गर्नेछन्।
एपीएफ, बंगलादेश टिम र आयोजक समुह ए तथा नेपाल पुलिस, न्यू डायमण्ड र भारत देहरादुनको स्पोर्टस ट्रेनिज समूह बी मा छन्।
फागुनको ७ गतेसम्म लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछन्।