काठमाडौँ : बलात्कार घटनामा आर्थिक प्रलोभनमा परी पीडित र पीडकको मिलापत्र गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीलाई प्रहरी प्रधान कार्यालय तानिएपछि रिक्त रहेको ठाउँमा डिएसपी दानबहादुर मल्लको पोस्टिङ भएको छ।
मल्ल लामो समयदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का अंगरक्षक थिए।
लैनचौर, बाैद्ध, बानेश्वरसँगै आफ्नो पोस्टिङका लागि सोर्सफोर्स लगाउने ठाउँहरुमा दरबारमार्ग वृत्त पनि पर्छ। प्रचण्डले यसअघि नै मल्ललाई दरबारमार्ग वृत्तमा पठाउन खोजेका थिए। तर डिएसपी भारतीले बाजी मारे। भारती तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराका ज्वाइँ नाता पर्ने हुन्।
सोही घटनामा इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेतलाई कारबाही भएको छ। ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ।
काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग वृत्त पुगेकी थिइन्। तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।
घटनापछि प्रहरीले घटना बारे अनुसन्धान गर्ने दुई छुट्टा छुटै छानविन टोली बनाएको थियो। टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको छ।
डिएसपी भारती भने घटनाको दिन आफू विदामा रहेको दावी गर्दै आएका छन्।