
काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै नेपाल वान डे वर्ल्डकप क्वालिफायरमा छनोट भएपछि भारतबाट आएका ब्याटिङ कन्सलट्यान्ट सुलक्षण कुलकर्णीले नेपाली टोली मेहनती रहेको तर अनुभव आवश्यक रहेको बताएका छन्। ‘उनीहरु प्रतिभावान र मेहनती छन्। उनीहरुको फिल्डिङ राम्रो छ। नेपालमा टी-२० क्रिकेट खेलेका कारण उनीहरुलाई यसले सहयोग गरेको हो।’
कुलकर्णीले नेपाली ब्याट्सम्यानले धेरै एक्सपोजर पाए अझै राम्रो हुने बताएका छन्। ‘उनीहरु प्रतिभावान छन् तर यो लेभलमा केही अनुभव आवश्यक छ। उनीहरुले एकपटक एक्सपोजर पाएमा म विश्वस्त भएर भन्न सक्छु उनीहरु राम्रो हुनेछन्,’ उनले विश्वास व्यक्त गरे।
यस्तै उनले १७ वर्षीय युवा लेगस्पिनर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे। सन्दीपले ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए। ‘उनी चमत्कारिक छन्। उनी गुगली राम्रो भएका एग्रेसिभ लेगस्पिनर हुन्। नेपाली क्रिकेटको लागि भएको सबैभन्दा राम्रो कुरा भनेको सन्दीप यस सिजनको आइपीएलमा छनोट भएका छन्।’ उनलाई अक्सनमा दिल्लीले खरिद गरेको थियो।
उनले नेपालमा क्रिकेट धेरै लोकप्रिय रहेको समेत बताएका छन्। ‘क्रिकेट त्यहाँ धेरै चर्चित छ। फ्यान फलोइङ गज्जबको छ। नियमित खेलको लागि मैदानमा ५ देखि १० हजार दर्शक हुन्छन्।’
भारतमा प्रशिक्षकको रुपमा मुम्बईलाई रणजी ट्रफी च्याम्पियन बनाएका कुलकर्णीले मुम्बईको क्रिकेट कल्चरको झलक नेपालको ड्रेसिङ रुममा दिने प्रयास गरेको बताए। भने ‘उनीहरुसँग आफ्नो क्षमता छ। मैले उनीहरुलाई त्यो कसरी सदुपयोग गर्ने बारे जानकारी गराए।’