- शिशिर वैद्य -
सुर्खेतको बाङ्गेसिमल कर्णाली राजमार्गको प्रस्थान बिन्दु हो। तर स्थानीय पत्रकार रामकृष्ण गौतमले हामीलाई सजिलो बाटो जाउँ भन्दै दैलेखको कपासे हुँदै एकै पटक तल्लो डुंगेश्वरमा पुर्याए। दैलेखको गुराँसेमा चिया खाएर झण्डै तीन घण्टाको यात्रा पछि हामी तल्लो डुंगेश्वर पुगेका थियौं। यहींबाट हामी कर्णाली राजमार्गमा मिसियौं।
‘स्वदेशी बस्तुको उपभोग गरौं, स्थानीय कृषकलाई प्रोत्साहन गरौं’– गुराँसे सब्जी मण्डी। यतातिर तरकारी पसललाई सब्जीमण्डी लेख्दा रहेछन्। हामी जतिजति अघि बढ्दै थियौं हिमश्रृंखलाका मनोरम दृष्यहरु पनि बढ्दै थिए। तल हरियो देखिने नदी, माथि विभिन्न हिमाल। तल्लो डुंगेश्वरको दृष्य निकै मनमोहक थियो। कर्णालीमा समाहित हुन आउँदै गरेकी तिला नदी, कर्णालीको छालसँग जुझ्दै कायाकिङमा रमाइरहेका जलयात्रीहरु। तिला नदी र कर्णालीको संगमस्थल तल्लो डुंगेश्वर पवित्र तीर्थस्थल पनि हो। तल्लो डुंगेश्वरमा कर्णालीको माछाको झोलसँग सन्तोष होटलमा खाएको खानाको स्वाद बेजोडको थियो। कर्णाली राजमार्गको मुग्लिङ जक्सन जस्तै छ यो ठाउँ। तर खानाको स्तर माथिल्लो।
कहिले तिला नदीको तिरैतिर, कहिले कर्णालीको फराकिलो फाँट, कहिले हिमश्रृंखला देखिने पहाडको टाकुरा। कर्णाली राजमार्ग यसरी नै अघि बढ्छ। साँघुरो सडक भए पनि सार्वजनिक बस तथा ट्रक बेफिक्रीसँग हुँईकिँदै थिए। रामघाट, राकम हुँदै कालीखोला पुग्दा निकै साँघुरो सडक आयो। त्यस्तो साँघुरो सडकको एकातर्फ भने बसहरु लहरै रोकिएका थिए। अस्थायी बसपार्क रहेछ त्यो।
रामघाटमा कर्णाली नदीमाथि भर्खरै उद्घाटन भएको पुल थियो। आकर्षक। नयाँ पुलले कर्णाली र मध्यपश्चिमलाई सुदुरपश्चिमसँग निकै नजिक बनाएको छ।
राकमबाट अघि बढ्दै सियाला, सैनी, खिड्कीज्यूला, पातेमेलोहुँदै सिरडी पुगेर हामी भेरी अञ्चलबाट कर्णाली अञ्चलमा प्रवेश गर्यौं। सिरडी दैलेख र कालीकोट जिल्लाको सीमाना भर्ता गाविसमा पर्छ। अघि बढ्दै जाँदा डाँडाको टुप्पामा एकसरो धर्सो तानिए जस्तो बस्ती देखियो। औंलो सोझ्याउँदै रामकृष्णले भने– ‘त्यही हो कालीकोट।’
'निकै लामो पो भइसकेछ त मान्म,' अग्रज दाजु किशोर नेपाल अचम्म मान्दै थिए। एक दशक अघि उनी हिँड्दै कालीकोट सदरमुकाम मान्म पुगेका थिए। निकै विकट, उराठ लागेको थियो उनलाई मान्म त्यतिखेर। तर अहिले मान्मले रुप फेरेको छ। अग्ला घरहरु, सुविधायुक्त होटलको विकाससँगै कालिकोटको तस्बिर शहरमा सुनेको भन्दा निकै फरक भैसकेको छ। भर्ता गाविसमा शुरु हुने कर्णाली राजमार्ग मान्म, तालसेरा, धराई, महेलसेरा हुँदै कालिकोटको फोइमहादेव गाविसमा पर्ने नाग्म पुगेर जुम्ला प्रवेश गर्दछ। यहीँबाट रारा जाने गाडीहरुको बाटो पनि छुट्टिने गर्दछ। कर्णाली राजमार्ग खुलेपछि रारा तालको मनोरम दृष्यमा रमाउन आउनेहरुको घुईंचो लाग्न थालेको छ। त्यसैले नाग्म बजार रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वागतमा व्यस्त हुनथालेको छ।
पिली पुग्दा नपुग्दै रातले आफ्नो रूप धारण गरिसकेको थियो। पिली, माओवादी द्वन्द्वकालको ऐतिहासिक स्थल हो। यहाँ माओवादीले नेपाली सेना माथि पहिलो पटक आक्रमण गरेका थिए।
जुम्ला खलंगा पुग्दा रातको नौ बजिसकेको थियो। स्नो ल्याण्ड होटलमा हाम्रो बासको प्रबन्ध थियो। चिसो, थकान अनि भोक। सबै गलेका थियौं। होटलका भाइहरु पनि हामीलाई खाना खुवाएर सुत्न हतारो गर्दै थिए।
जुम्ली मार्सी चामलको भात, कालो सिमीको दाल, रायोको साग अनि आलु र स्कुसको तरकारी। लोप हुन लागेको जुम्ली मार्सीको भात किशोर दाजु र रामकृष्ण बाहेक कसैले चाखेका थिएनन्। भोक मीठो कि भोजन भन्ने उखानमा भोकले जितेको अवस्थामा स्वाद बेस्वादको चर्चा गर्ने फुर्सद कसैलाई थिएन।
चन्दननाथ मन्दिरको जिर्णोद्दार हुँदै थियो। बजार क्षेत्र एयरपोर्ट सम्म फैलिएको थियो। पहिले आउँदा भन्दा खलंगा बजारमा नयाँ घरहरुको संख्या निकै बढेको पाएँ मैले। बस्ती र बजार पनि बिस्तार भइसकेछ। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको निर्माण तीब्र चरणमा थियो।
जुम्लामा ट्याम्पु? बजारमा हुईंकिदै गरेको ट्याम्पु देखेर आश्चर्यबोधक चिन्हहरु मेरो टाउका माथि चक्कर लगाउन थालेका थिए। यत्तिकैमा हामीले सानो सामान ढुवानी गर्ने माइक्रो पनि भेट्यौं। फोरह्वील जीपमा बल्ल बल्ल आइपुगेका हामी यो दुर्गम जिल्लामा ट्याम्पु र माइक्रो देखेर चकित भयौं।
कर्णाली राजमार्गका धेरै भाग कालोपत्रे भइसकेको थियो। तर ठाउँ ठाउँमा ढुंगे पहिरो, थुप्रै खहरे र खोलाहरुमा आधी बनेर छाडिएका पुल। ठेक्का लागेको वर्षौं बितिसक्दा पनि काम नसक्किँदै भागेका ठेकेदारका कारण कर्णाली राजमार्ग अलपत्र परेको थियो। त्यसैले सडक यातायात अझै त्यति सहज भइसकेको छैन कर्णालीका लागि।
जुम्लाको यात्रा पछि हामी रामघाटमा बनेको कर्णाली माथिको नयाँ पुल तरेर मध्य पहाडी राजमार्गहुँदै अछाम पुग्यौं। सामान्यतया यहाँका बासिन्दा सुर्खेत झरेर पूर्व पश्चिम राजमार्ग, भीमदत्त राजमार्ग छिचोल्दै अछाम पुग्ने गर्छन्। तर हामी सिधै कर्णाली तरेर विनायकको बाटो अछाम छिर्यौं। मध्यपहाडी राजमार्गको काम जोडतोडले चलिरहेको थियो। कामदारहरु कतै ढुंगाका गाह्रो लगाउन व्यस्त थिए, कोही ढुंगा ओसार्न। विनायकमा चिया खाएर अघि बढ्ने हाम्रो योजना पहाड काटेर ढुंगा निकाल्दै गरेको डोजरले चकनाचुर बनाइदियो। सडक बन्दै गरे पनि हामीलाई मध्यपहाडि राजमार्ग कर्णाली राजमार्ग भन्दा सहज लाग्यो। किनभने यो सडक निकै चौडा थियो। यस्तै चौडा सडक सबै तिर हुने हो भने पहाडी बाटोमा सवारी चलाउन निकै सहज हुने थियो। सुर्यास्त हुनै लाग्दा हामी अछामको सदरमुकाम मंगलसेन पुगिसकेका थियौं। त्यसको केही बेरमै साँफेबगर।
बुढी गंगाको वारिपारी फैलिएको साँफेबगर सुदुरपश्चिमको सुन्दर शहर मध्येमा पर्दछ। यो शहरलाई अझै सुन्दर बनाउन सरकारले यसलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको छ। तर गुरुयोजनाको अभावमा नयाँ शहरको काम अझै शुरु हुन सकेको छैन। यहाँ विमानस्थल छ तर विमान नआएको वर्षौं भइसकेकोछ। विमानस्थल कालोपत्रे हुने हल्ला चलेको पनि धेरै भइसकेको रहेछ।
भोलिपल्ट हामी डोटीका लागि अघि बढ्यौं। साँफे छोड्दा ढिलो भएकोले सिलगढी पुग्दानपुग्दै रात पर्यो। सिलगढी स्थित डाँफे होटलमा हाम्रो रात्री विश्रामको व्यवस्था भएको थियो। डाँफे होटलको बार्दलीबाट तल फाँटमा काठमाडौंको झझल्को दिने झिलिमिली बजार देखियो। त्यो दिपायलको पिपल्ला बजार रहेछ। बादलले ढाकेको दिपायल, सिलगढीको डाँडाबाट निकै सुन्दर देखिएको थियो। मनमोहक।
२०४८ सालमा दिपायल आउँदा यहाँ बगरमा स–सानो झुपडिको बजार थियो। अहिले यो ठूलो शहर बनिसकेको छ। सेती नदीको छेउको फाँटमा बाली काटेर लामो लौरोमा भण्डार गरिएको परालका दृष्य निकै मनमोहक थियो।
हामी बिस्तारै अघि बढ्दै स्याउले हुँदै डडेल्धुरा बजारतर्फ अघि बढ्यौं। लालीगुराँसले धपक्क ढाक्ने डडेल्धुराका डाँडा हाम्रो बेसिजनको यात्रामा सुख्खा थियो। कैलाली, कञ्चनपुरबाट विद्यार्थीहरु शैक्षिक भ्रमण गर्न र हिमालको दृष्यावलोकन गर्न डडेल्धुरा तिर निकै आउने रहेछन्। डडेल्धुराको खोड्पे बाट बझाङ जाने बाटो छुट्टिन्छ। हामी भने सिधै लाग्यौं, बैतडी तिर।
बिहेको सिजन चलिरहेकोले होला, बाटो भरि हामीले निकै जन्तीका गाडि देख्यौं। घोडामा सवार दुलहा, निधारभरि चामलको रातो टिका लगाएर गीत गाउँदै, नाच्दै हिंडेका जन्ती मस्त थिए। बैतडीको पाटन अलिक परैबाट देखिए पनि त्यहाँ पुग्ने बाटो निकै घुमाउरो रहेछ। पाटनको फाँटले मलाई संधै मोहित पार्ने गरेको छ। धानका बाला लहलहाउने समयमा पाटन पूरै हरियो देखिन्छ। नयाँशहरमा सूचिकृत पाटनले कतै त्यो हरियाली गुमाउने त होइन ? मेरो मनमा प्रश्न उठीरहन्छ।
पाटनबाट गोकुलेश्वरतिर अघि बढ्दै जाँदा हामी सतबाँझ भन्ने ठाउँमा रोकियौं। यहाँबाट दार्चुला जाने र झुलाघाट जाने बाटो छुट्टिन्छ। झुलाघाट ३८, दार्चुला १२६ किमी। सडक विभागको सूचना पाटिले हाम्रो यात्रा अझै बाँकी रहेको संकेत गरिरहेको थियो। सतबाँझमा सडकको बिचमा एउटा मन्दिर रहेको छ। विभिन्न धार्मिक झण्डा ठड्याइएको गोलाकार, ट्राफिक पोष्ट जस्तो। मन्दिरको छेवैमा प्रहरी चेकपोष्ट, केही पसल र जीप काउन्टर छ।
दार्चुला सम्मको बाटो पिच छ भन्ने जानकारी हामीलाई दिइएको थियो। तर महाकालीमा आएको बाढीले बाटो बगाएको छ भन्ने सुनेका हामीलाई बाटो राम्रो होला भन्नेमा शंका थियो।
गोकुलेश्वर पुगेर हामी दार्चुला प्रवेश गर्यौं। गोकुलेश्वरमा चियाखाने मेसो नमिलेपछि हामी पनेबाँझ भन्ने ठाउँमा पुगेर चिया खान रोकियौं। दिन ढल्किंदै थियो, बाटो अझै निकै जानु थियो। त्यसैले छिटो छिटो चिया पिएर हामी अघि बढ्यौं। बाटो हामीले सोचेको भन्दा निकै राम्रो थियो। तर निकै घुमाउरो। पहाडको टुप्पा टुप्पाबाट लगिएको बाटोमा बेला बेला रिंगटा नै लाग्ने मोड आउँथ्यो। साँझ पर्दा नपर्दै हामी दार्चुला सदरमुकाम अपि नगरपालिका पुग्यौं। शिखर होटलमा बास बस्न। पिच सडक, सौर्य सडक बत्ती, स्तरीय होटल। हामी सब दार्चुला देखेर दंग थियौं। पछिल्लो पटक भारतको बाटो पिथौरागढ, धार्चुला हुँदै नेपाल छिरेको थिएँ। आफ्नै देशको भु–भागमा आउन पनि भारतको बाटो आउनु पर्ने बाध्यताको अन्त भएकोमा म निकै हर्षित थिएँ। त्यो पनि सुगम तरिकाले।
दार्चुलामा महाकाली नदीमा तटबन्धको काम चलिरहेको थियो। महाकालीमा चार वर्ष अघि आएको बाढीले ध्वस्त घरहरु पुनर्निर्माणको पखाईमा झुन्डिरहेका देखिने दृष्यहरुले मन बडो विचलित बनाउँछ। बजार विस्तारित भएको छ। सडकको विकासले यहाँका मानिस उत्साहित थिए। महाकाली पारी भारतको धार्चुला नगर दार्चुला भन्दा विकसित र व्यवस्थित देखिन्छ। बजार नेपालीहरु लक्षित नै रहेको त्यहाँ पाइने सरसामानले स्पष्ट पार्दछ।
हरियो रंगको झोलुङ्गे पुल तरेर भारत छिर्ने बित्तिकै मन ढक्क हुँदो रहेछ। एउटा नदी र सानो पुल तर्ने बित्तिकै देशै बेग्लै, भाषै बेग्लै। आफ्नो भूमि र अरुको भूमिको आभाषले असुरक्षित र अप्ठ्यारो महसुस हुने। पुल छेउमा लेखिएको छ– ‘यहाँ तस्बिर लेना मना हे’। नेपालपट्टि भने त्यस्तो केही लेखिएको थिएन। पुलको बीचमा ढोका रहेको छ। राति यो ढोका बन्द हुन्छ। गाडीको लस्कर, मानिसको हुल, चोकमा लौरो बोकेर उभिएको गान्धीको शालिक। धार्चुलामा निकै व्यस्त सीमा शहर रहेछ।
दार्चुला भ्रमण सकेर बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको अत्तरिया आइपुगेर हामी पूर्व पश्चिम राजमार्गसँग जोडियौं। तराई नझरीकनै पहाडै पहाड बनेको बाटोले पहाडी जिल्लाहरु बीचको सम्बन्ध प्रगाढ हुने आशा लिएर हामी काठमाडौं फर्कियौं।