काठमाडौं: ’कृपा संगीत रत्न सम्मान’ द्वारा रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र गायक योगेश वैधलाई सम्मान गरिएको छ। ’सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले सम्मान कार्यक्रम आयोजना गरेको हो। फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि गायक प्रेमध्वज प्रधान लगायतको टोलीले सम्मान हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा किड्नीमा समस्या आएपछि उपचार गराईरहेका गायक ओमविक्रम बिष्टलाई फाउन्डेसनको तर्फबात नगद र ५१ हजार प्रदान गरियो। उनको सम्मान तथा नगद सहयोग छोरा शिखरविक्रम बिष्टले ग्रहण गरे। गायक विष्टले भिडियो मार्फत उपस्थितलाई सम्बोधन गर्दै कृपा फाउन्डेसनलाई धन्यवाद दिए।
कार्यक्रममा ओमविक्रम बिस्टको जन्मोत्सव विशेष केक पनि काटियो। साथै संगीतकर्मीहरुले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। कृपा फाउन्डेसनले सगरमाथा आरोहणको तयारीमा रहेका पाँच महिला सञ्चारकर्मीलाई पाँच लाख नगद सहयोग प्रदान गर्यो। कार्यक्रममा हर्कुलस बस्नेतको शब्द तथा संगीत र शिव लामिछानेले गाएको ‘जय नेपाल’ बोलको गीत रिलिज गरियो।
यसैगरी सोहि अवसरमा कृपा अन्प्लगडका आर्टिस्टलाई रोयल्टी प्रदान गरिएको थियो। कार्यक्रममा तेस्रो सिजनको पनि घोषणा गरियो। कृपा ब्याण्डसंगै शिव लामिछानेले लाइभ प्रस्तुति पनि दिएका थिए। उनले आफ्नै गीतहरु जानिन कि मैले , रेशमी घुम्टो , किन दुख्छ मुटु मेरो र चाहे माया गर या उपस्थित निम्तालु माझ प्रस्तुत गरेका थिए।