
काठमाडौं: दिउँसो तीन बजे हुने भनिएको प्रदेश नम्बर ७ का मुख्यमन्त्रीको शपथ ग्रहण अझै हुन सकेको छैन।
एमालेलाई मन्त्री छान्न सकस भएपछि मुख्यमन्त्रीको शपथ ग्रहण दुई घण्टाका लागि सरेको छ।
माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट फागुन ३ गते प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्रीमा भट्टले आज दिउँसो तीन बजे शपथ लिने गर्ने कार्यक्रम थियो। प्रदेश प्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीका अनुसार अब मुख्यमन्त्रीको शपथ ग्रहण ५ बजे हुनेछ।
मुख्यमन्त्रीसहित आजै मन्त्रीहरुको पनि शपथग्रहण गर्ने तयारीमा एमाले माओवादी जुटेको छ। माओवादीले मन्त्रीहरुको टुंगो लगाई सकेको छ। माओवादीबाट विनिता चौधरी र झपट बोहरालाई मन्त्रीको शपथ ग्रहण गर्ने छन्।
दीर्घ सोडारी, प्रकाशबहादुर शाह, तारा लामा र माया भट्टलगायत केही एमाले सांसदले मन्त्रीको दाबी गरिरहेका छन्। कसलाई मन्त्री बनाउने भन्नेमा एमालेले निर्णय गर्न सकेको छैन्।