PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

सिमरा गोल्डकप : थ्री स्टारलाई हराउँदै आर्मीले जित्यो उपाधि



राधेश्याम पटेल

सिमरा गोल्डकप : थ्री स्टारलाई हराउँदै आर्मीले जित्यो उपाधि

वीरगंज : त्रिभुवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको छ। सिमरा रङ्गशालामा शनिवार भएको प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभूवन आर्मीले सिमरा गोल्डकपको नवौँ संस्करणको उपाधि उचालेको हो। आर्मीले यसअघि २०७१ मा छैंठौँ संस्करणको उपाधि जितेको थियो।

यस सिजन आर्मीले जितेको यो पाँचौँ नकआउट उपाधि हो। यसअघि आर्मीले विशाल मेमोरियल, सताक्षी गोल्डकप, काकडभित्ता गोल्डकप र खप्तड गोल्डकपको उपाधि जितेको थियो।

आर्मीलाई उपाधि दिलाउने क्रममा दिनेश हेम्जन र नवयुग श्रेष्ठले एक/एक गोल गरे। खेलको ५८औं मिनेटमा दिनेश हेम्जनले आर्मीलाई अग्रता दिलाएका थिए। खेलको ७४औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले दोश्रो गोल गर्दा थ्री स्टार विरुद्ध आर्मीले शानदार जित दर्ता गर्‍यो।

खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका सन्तोष तामाङ घोषित भए। खेलका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमूख डा. कृष्ण पौडेल, बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर, आयोजक क्लबका अध्यक्ष कासिम मियाँ, नेपाल खेलकुद पत्रकार महासंघका महासचिब प्रकाश तिमल्सिना लगायत विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

 

विधागत पुरस्कारमा आर्मीको वर्चस्व

सर्वोत्कृष्ट खेलाडी – दिनेश हेम्जन, त्रिभूवन आर्मी क्लब

सर्वाधिक गोलकर्ता – दिनेश हेम्जन, त्रिभूवन आर्मी (३ गोल )

सर्वोत्कृष्ट गोलरक्षक – विकेश कुथु, त्रिभूवन आर्मी

सर्वोत्कृष्ट डिफेन्डर – विमल पाण्डे, त्रिभूवन आर्मी

सर्वोत्कृष्ट फरवार्ड – जर्जप्रिन्स कार्की, त्रिभूवन आर्मी

सर्वोत्कृष्ट मिडफिल्ड – निराजन खड्का, थ्रिस्टार

फेयर प्ले टिम – आयोजक क्लब ‘निलो’

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी दिनेश हेम्जनले एक थान यामाहा सेलुटो मोटरसाईकलसहित सर्वाधिक गोलकर्ताको अवार्ड प्राप्त गर्दै थप १५ हजार हात पारे। अन्य विधागत उत्कृष्ट खेलाडीले समान १५ हजार नगद र ट्रफी हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell