
सान्टिआगोः मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। शुक्रबार गएको भूकम्पको क्षतिको अनुगमनका लागि भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको हो।
भूकम्पको इपिसेन्टर अोक्साअाका नजिकै सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको मेक्सिको न्यूज डेलीले जनाएको छ।
हेलिकोप्टर दुर्घटनामा १४ जनाको ज्यान गएको र बाँकी १३ जना घाइते भएको मेक्सिको न्यूज डेलीले जनाएको छ। हेलिकोप्टरमा सवार संघीय आन्तरिक मामिलामन्त्री अल्फान्सो नाभार्रेटे र ओक्साआकाका गभर्नर अलजान्ड्रो मुरट भने सकुशल छन्। आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा भएको दुर्घटनामा एक ६ महिने बच्चासहित १४ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
मेक्सिकोको ओक्साआकामा शुक्रबार ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो। भूकम्पका कारण ५० बढी घरहरूमा क्षति पुगेको बताइएको छ। १० लाखभन्दा बढी घरहरूमा विद्युत प्रवाह रोकिएको छ।
गत सेप्टेम्बरमा पनि मेक्सिकोमा ७.१ म्याग्निच्यूडको भूकम्प जाँदा ३६९ जनाको मृत्यु भएको थियो।