PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पूर्व कमलरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित 



चन्द्रकान्त खनाल

पूर्व कमलरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित 

रुपन्देहीः प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन्। २ जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन।

संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे। फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन्। राष्ट्रिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन्। 

उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए। संविधानको धारा १८२ को उपधारा १ बमोजिम उपसभामुख चयन भएको हो

बैठकमा सभामुखले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। 

को हुन् थारु ?


कमैया तथा कमलरी महिलाको मुक्ति एंव अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दिया राजापुर नगरपालिकाकी कृष्णी सानैदेखि जमिन्दारको घरमा कमलरीको रुपमा काम गरेकी थिइन्। उनको विवाहपछि पनि जमिन्दारको घरमा परिवारसहित कमैयाको रुपमा काम गरिन्।  

विसं २०५७ साउन २ गते सरकारले कमैया कमलरी मुक्त भएको घोषणा गरेसँगै उनको परिवार पनि मुक्त भएको हो। सरकारले कमैयामुक्त गर्दा मुक्त कमैयालाई पहिचान नदिएको भन्दै उनी विभेद् विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी थिइन्।

 विजयपछि थारुले आफूले उपसभामुख पदको मयादित ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रदेश नं. ५ को समृद्धिका लागि सम्पूर्ण दलसँग सहकार्य र समन्वय गरेर अगाडि बढने बताइन्।


कार्यव्यवस्था परामर्श समिति गठन


प्रदेश ५ मा सभामुखले कार्यव्यवस्था समिति गठन गरेका छन्। प्रदेश सभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा १५ बमोजिम सभामुख पूर्णबहादुर घर्तीले भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायण प्रसाद आचार्य, दधिराम न्यौपाने, इन्द्रजित थारु, वीर बहादुर राना, रमा अर्याल, विजय यादव र तारा जिसीलाई मनोनित गरेका हुन्।
 
अन्तरिम कार्यविधिअनुसार कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell