PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

संसद भवन बनाउन आएको चिनियाँ टोली सम्झौता नगरी फर्कियो



बीपी साह

संसद भवन बनाउन आएको चिनियाँ टोली सम्झौता नगरी फर्कियो

काठमाडौँ : बनेको २५ वर्ष भइसकेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकका लागि तयार पारिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) को भवन मर्मत गर्ने समय गुज्रिएको छ। 

अहिले यही केन्द्रका दुई वटा हललाई नयाँ रुप दिएर संघीय संसदको बैठक राख्ने तयारी भइरहेको छ। केन्द्रका भवनसहितका सामाग्रीहरुको आयु सकेको भन्दै चिनिया पक्षले मर्मतका लागि पटक-पटक ताकेता गर्दै आएको छ। 

दुई वर्षअघि पनि चिनिया टोलीले केन्द्रको भवन मर्मत गर्नु पर्ने भन्दै ताकेता गरेको थियो। तर त्यसबेला नियमित संसद बैठकहरु बस्दै गरेकोले संसद भवन खाली रहेको बेलामा मर्मत गर्ने भनेर नेपाली पक्षले टारेको सम्मेलन केन्द्रका एक अधिकारीले पहिलोपोस्टलाई बताए।

यस पटक माघको अन्तिम सातातिर संसद खाली रहेको बेला आएको चिनियाँ टोली पुनः सम्झौता नै नगरी फर्केको हो। 

चिनियाँहरुले तीन चरणमा मर्मतको प्रस्तावसमेत राखेको थियो। तर अहिले सभामुख नभएको भन्दै चिनिया टोली सम्झौता नै नगरी फर्केको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले बताए।

‘उहाँहरुले गरेको प्रस्तावलाई हामीले संसद बैठक अवरुद्ध नहुने गरी स्वीकार गर्‍यौं। सम्झौताका लागि तयारी पनि भएको थियो,’ पहिलोपोस्टसँग अमात्यले भने,‘पछि उहाँहरुको दूतावासले अहिले सभामुख नभएको भन्दै फिर्ता बोलाउनु भयो। उहाँहरुले राजनीतिक शक्तिमा रहेका व्यक्तिसँग सम्झौता गर्न चाहनु भयो।’

चिनिया टोली अर्थ मन्त्रालयमार्फत् अध्ययनका लागि सम्मेलन केन्द्रमा पुगेका थिए। मर्मतको सम्पूर्ण खर्च चिनिया पक्षले नै व्यहोर्ने जनाएको थियो। 

चिनिया टोलीले दिएको रिपोर्टअनुसार केही भवनको पुर्ननिर्माणसहित मर्मत, ऐसी परिवर्तन, फाउण्टेन, लाइट, साउडसहितका सामाग्रीहरु परिवर्तन गर्नुपर्ने हुन्छ जसका लागि उनीहरुले तीन चरणमा मर्मत गर्ने प्रस्ताव पेस गरेको छ।

सन् १९९३ मा चिनिया सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरेको थियो पछि यसको नाम वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रहन गयो। १२ हजार ५ सय ७३ वर्ग क्षेत्रफलमा रहेको सम्मेलन केन्द्रमा त्यसबेलाका आधुनिक प्रविधिहरु प्रयोग गरिएको थियो।

अमात्यले अप्रिल महिनाको अन्तिम तिर पुनः चिनिया टोली आउने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell