
चितवनः चितवनको भरतपुरस्थित रामनगरको पेट्रोलपम्पका कर्मचारीलाई गोली हानी हत्या गरी धनमाल लुटेको घटनाका फरार अपराधी कारगार चलान भएका छन्।
सात वर्षअघि २०६७ सालमा रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनाका दोषी गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’लार्इ जिल्ला अदालत चितवनले कारगार चलान गरेको हो।
उनलार्इ शुक्रबार गोरखाबाट पक्राउ गरी आइतवार चितवन जिल्ला अदालतमा बुझाइएको थियो। अदालतले आइतबार नै कारागार पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
फरार अपराधी खोजी अभियानका क्रममा प्रदेश ३ को प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको थियो।
जिल्ला अदालत चितवनको २०७३ साल असार २७ गतेको फैसलाअनुसार नेपालीलाई ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो। रासस