PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ कांग्रेस संसदीय दलका नेतामा पौडेल पक्षका राजीव निर्विरोध, भने - बहुमतको आतंक सहँदैनौं



अनन्तराज न्यौपाने

प्रदेश १ कांग्रेस संसदीय दलका नेतामा पौडेल पक्षका राजीव निर्विरोध, भने - बहुमतको आतंक सहँदैनौं

विराटनगरः प्रदेश १ नेपाली कांग्रेसका संसदीय दलका नेतामा रामचन्द्र पौडेल खेमाका राजीव कोइराला निर्वाचित भएका छन्।

सोमबार कांग्रेसको मोरङ जिल्ला पार्टी कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा कोइराला निर्विरोध निर्वाचित भएका हुन्। 

संसदीय दलको नेतामा मनोनयन पत्र दाखिला गरेका अन्य २ प्रदेश सभा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजीवलाई नेता हुन मार्ग प्रशस्त भएको थियो।

उम्मेदवारी फिर्ता लिने सांसदमा शेखरचन्द्र थापा र केदार कार्की थिए।

पार्टीभित्र पौडेलसमूहसित निकटता राख्ने डा शेखर कोइरालाका प्रियपात्र कार्कीले राजीवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

यसपछि देउवा समूह नजिकका शेखरचन्द्रलाई केन्द्रीय प्रतिनिधि भई आएका सांसद मीनेन्द्र रिजाल, पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बू, पूर्व सभापति अमृत अर्यालले नामाङ्कन फिर्ता लिन अनुरोध गरे।

प्रदेश सभाका कुल २१ सदस्यमा आफू अल्पमतमा पर्ने देखेपछि थापाले उम्मेदवारी फिर्ता लिएका हुन्।

पार्टी कार्यालयमा उनले संक्षिप्त सम्बोधन गर्दै अहिलेको अप्ठ्यारो बेलामा पार्टीभित्र एकताको वातावरण बनाइराख्न आफूले उम्मेदवारी फिर्ता गरेको घोषणा गरे।

उनलाई प्रदेश सभाको प्रमुख सचेतक नियुक्त गर्ने सहमति भएको बुझिएको छ।

को हुन् राजीव?


पुख्र्यौली पहाड सिन्धुलीको दुम्जाबाट हजुरबाकै पालामा मधेस झरेको राजीवको परिवार सुनसरीको तत्कालीन चाँदबेला गाविसमा आएर कृषिकर्म गरेर बस्यो। 

चाँदबेलामै राजीव २०१९ सालमा जन्मिए र २०३५ सालदेखि नेविसंघको राजनीति गरे।

नेपाली कांग्रेस सुनसरीको सभापतिको पद दोस्रो कार्यकाल सञ्चालन गरिरहेका उनी पार्टीभित्र नम्र, भद्र तर लडाकु र जुझारु नेतामा गनिन्छन्।

शाही शासनका बेला २०६२ सालमा ज्ञानेन्द्रले गराएको स्थानीय निर्वाचनको विरोध गर्दा उनी १८ दिन थुनामा परेका थिए।

हाल उनी इनरुवा नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा हुन्। सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’–बाट उनले प्रदेश सभा सदस्य जिते।

बहुमतको आतंक मान्दैनौँ


नेता कोइरालाले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिँदै वाम गठबन्धनले बहुमतका नाममा आतंक मच्चाए आफ्नो दलले नसहने चेतावनी दिए।

‘पूर्वाधारको विकास अहिलेको मुख्य आवश्यकता हो, प्रदेश १ सबै दृष्टिले धनी छ’, उनले भने, ‘विकास र समृद्धि अब रोकिँदैनन्। संसदीय दलको भूमिका विकास र समृद्धिका लागि हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell