हेटौंडा : त्रिभुवन आर्मी क्लब तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ को सेमिफाइनलमा प्रवेश गरेको छ।
हेटौंडामा जारी प्रतियोगितामा सुदूरपश्चिम–११ लाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको हो।
टाइब्रेकरमा आर्मीको तर्फबाट नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, विवेक बस्नेत र विकेश कुथुले गोल गरे। सुदूरपश्चिमको तर्फबाट नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र चेतन थारुले गोल गरेका थिए।
त्यसअघि नवयुग श्रेष्ठले खेलको ६९औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। उनले डिबक्स बाहिरबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो। खेल सकिन तीन मिनेटको समय बाँकी रहेको अवस्थामा सुदूरपश्चिमले बराबरी गोल गरेको थियो। सुदूरका लागि ८७औं मिनेटमा विनो केसीले बराबरी गोल गरे।
खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अधिकांश सिनियर खेलाडी घाइते भएको अवस्थामा जुनियर खेलाडीलाई मौका दिँदा खेलमा दबाब भोग्नुपरेको बताए। सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले रेफ्रिको कारण आफूहरुले हार्न परेको बताए। ‘हामी जिल्लाको टिम भएकाले हेपिएको हो’, उनले थपे।
प्रतियोगिताअन्तर्गत मंगलवार थ्री स्टार क्लब र संकटा क्लबबीच खेल हुनेछ।