PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

एमाले-माओवादी वार्ता कै बीच फोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा



बीपी साह

एमाले-माओवादी वार्ता कै बीच फोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा

काठमाडौँ : एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरण बारे महत्वपूर्ण बैठक सुरु भइरहेकै बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्। 

एमाले नेता अग्नि खरेलसँग उनी बालुवाटार पुगेका हुन्। बालुवाटार जानुभन्दा अघि आज दिउँसो पनि यादव र खरेलबीच छलफल भएको थियो। 

यस विषयमा उपेन्द्र यादवसित सम्पर्क गर्न खोज्दा उनको मोबाइलको स्विच अफ भएकोले कुरा हुन सकेन। तर उनको सचिवालय स्रोतका अनुसार यादवले बालुवाटारमा संविधान संशोधनबारे आफ्ना कुरा राखेका थिए। 

'उहाँले आफ्नो कुरा राख्नुभयो र निस्कनुभयो,' स्रोतले भन्यो, 'वाम गठबन्धनभित्र संशोधनबारे छलफल भइनसकेकोले औपचारिक निर्णय भएपछि पुनः खबर गर्ने एमालेले बताएको छ।'

बालुवाटारबाट सुटुक्क निस्केका यादवले त्यहाँ रहेका सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन्। 

यसअघि पहिलोपोस्टसित कुरा गर्दै यादवले 'हामीले सरकारमा नजाने पनि भनेका छैनौं तर हामी संविधान संशोधनको एजेण्डा छोड्दैनौँ’ भनेका थिए। 

संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ। एमालेसित २७५ सदस्यीय प्रतिनिधि सभामा १२१ सदस्य मात्र छ।  बहुमत सिद्ध गर्न एमालेलाई १७ सिट अपुग छ। संसदमा राजपाको १७ र संघीय समाजवादी फोरमको १६ सिट रहेको छ।  

एमालेसँग माओवादीको सम्बन्ध बिग्रेको खण्डमा एमालेलाई सरकार बनाउन मधेशी गठबन्धनको कम्तिमा एक दलको समर्थन आवश्यक पर्नेछ। 

उता अर्को मधेसकेन्द्रित दल राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूहरुसित कुनै छलफल नभएको र  उपेन्द्र यादव गएको बारे कुनै जानकारी नभएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell