काठमाडौः लामो समयदेखि आफ्नो अंगरक्षक रहँदै आएका डिएसपी दानबहादुर मल्ललाई पुरस्कार स्वरुप दरबारमार्ग वृत्तमा सरुवा गराएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ अंगरक्षक पाएका छन्।
केही दिनदेखि नेपाल प्रहरीले दाहालको अंगरक्षकमा डिएसपी सन्तोषसिंह राठौरलाई खटाएको छ।
यसअघि महानगरीय नगर प्रहरी कार्यालय काठमाडौँमा रहेका राठौरलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक अपराध अनुसन्धान तथा कारबाही शाखामा गएको भदौ महिनामा सरुवा गरिएको थियो। प्रचण्डकै सिफारिशमा हेडक्वार्टरले राठौरलाई अंगरक्षकमा खटाएको हो।
२०७१ को सरुवामा भने राठौरलाई युएन जगेडामा राखिएको थियो।
डिएसपी दानबहादुर मल्ललाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा गरिएपछि राठौरलाई प्रचण्डको सुरक्षाको जिम्मेवारी दिइएको हो।
लैनचौर, बौद्ध, बानेश्वरसँगै आफ्नो पोस्टिङका लागि सोर्सफोर्स लगाउने ठाउँहरुमा दरबारमार्ग वृत्त पनि पर्छ। प्रचण्डले यसअघि नै मल्ललाई दरबारमार्ग वृत्तमा पठाउन खोजेका थिए। तर डिएसपी भारतीले बाजी मारे। भारती तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराका ज्वाइँ नाता पर्ने हुन्।
तर होटल ल्यान्डमार्क सामूहिक बलात्कार काण्डमा मुछिएपछि डिएसपी भारतीलाई हेडक्वार्टर तानी स्पष्टीकरण सोधिएको छ। सोही घटनामा उनी मातहतका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेतलाई कारबाही भएको छ। ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ।
काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग वृत्त पुगेकी थिइन्। तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।
घटनापछि प्रहरीले घटना बारे अनुसन्धान गर्ने दुई छुट्टा छुटै छानविन टोली बनाएको थियो। टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको छ।
डिएसपी भारतीले भने घटनाको दिन आफू विदामा रहेको दावी गर्दै आएका छन्।