PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रिय सभामा नयाँ सदस्य मनोनयनमा कांग्रेसको विमति : प्रवक्ता शर्मा



नेत्र तामाङ

राष्ट्रिय सभामा नयाँ सदस्य मनोनयनमा कांग्रेसको विमति : प्रवक्ता शर्मा

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो सरकारले मनोनित गरेका सदस्यको नाम फिर्ता गरेकोमा आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारले विपक्षीसँग दुरी बढाउने काम गरेको उल्लेख गर्दै यस निर्णयप्रति कांग्रेसको विमति रहने जनाए।

'अघिल्लो सरकारले गरेको निर्णयको विषयलाई रोकेर यो सरकारले विपक्षीसँग दुरी बढाउने काम गरेको छ, नयाँ सदस्य मनोनित गरेको प्रति कांग्रेसको विमति छ,' प्रवक्ता शर्माले भने।

यस निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावी दिनमा राजनीतिक सहमति नगर्ने संकेत दिएको उनले दाबी गरे।

शर्माले भने, 'यदि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणामपछि यो सरकार कामचलाउ भएको र कामचलाउ सरकारले मनोनित गरेको भन्ने आधार हो भने राष्ट्रिय सभाको निर्वाचन नै कामचलाउ सरकारले गरेको हो, मनोनितलाई मात्र किन हटाउने?'

प्रवक्ता शर्माले राष्ट्रपति कार्यालयको ढिलासुस्ती नै शंकास्पद रहेको आशंका व्यक्त गरे।

अब कांग्रेसले के गर्छ त?

जवाफमा शर्माले भने, 'यसबारे पार्टीमा आधिकारिक छलफल भइसकेको छैन। तर, कांग्रेस सरकारले सम्पूर्ण निर्वाचन पूरा गरी प्रक्रियाअनुसार नै राष्ट्रिय सभाको सदस्य मनोनित गरेको हो। नयाँ सरकारले के कारणले फिर्ता गरेको हो। त्यो कारण थाहा पाएपछि मात्र कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell