काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई राष्ट्रिय सभा सांसद मनोनित गरेकी छिन्। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो।
राष्ट्रपतिले ओली क्यबिनेटको निर्णयलाई दुई घन्टामै सदर गरिन्। यसअघि शेरबहादुर देउवाको नेतृत्वले गरेको सिफारिस भने उनले अघि बढाइनन्।
प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्यका लागि गरेको सिफारिस अड्काएको राष्ट्रपति कार्यालयले प्रधान मन्त्री ओलीको सिफारिस भने तीब्र गतिमा अघि बढायो।
माघको अन्तिम साता देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनित गर्न कृष्ण प्रसाद पौडेल, गोपाल बस्नेत, चाँदनी जोशीको नाम सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले अध्ययनका लागि बाँकी रहेको भन्दै उनीहरुको फाइल अड्काएकी थिइन्।
देउवा सरकारको सिफारिसलाई फिर्ता लिँदै आज बिहान बसेको मन्त्रिपरिषद्ले सिफारिस गरेको डा.युवराज खतिवडा, रामनारायण विडारी र डा.विमला पौडेललाई राष्ट्रपति भण्डारीले मनोनित गरेकी हुन्।
बिहान ९ बजे मन्त्रिपरिषद्ले नाम सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले ११ बजे उनीहरुलाई मनोनित गरिन्।