PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

च्याम्पियन्स लिग : बार्सिलोना र चेल्सीले खेले बराबरी, वायर्नको ५ गोल



पहिलोपोस्ट

च्याम्पियन्स लिग : बार्सिलोना र चेल्सीले खेले बराबरी, वायर्नको ५ गोल

लियोनल मेसीले पहिलो पटक चेल्सी विरुद्ध गोल गरेपछि युरोपियन च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा बार्सिलोना र चेल्सीले १-१ बराबरी खेलेका छन्।

यस्तै जर्मन क्लब वायर्न म्युनिखले १० खेलाडी रहेर खेलको अन्त्य गरेको टर्किस क्लब बेसिकटासलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विलियनले गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। ६२औँ मिनेटमा एडेन हाजार्डको पासमा विलियनले गोल गरेका थिए। तर उक्त अग्रता लामो समय टिकेन।

लियोनल मेसीले ७५औँ मिनेटमा कप्तान आन्द्रेज इनेस्टाको पासमा बराबरी गोल गरे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पहिलो लेग बराबरीमा सकियो।

पहिलो हाफमा विलियनको दुई प्रहार पोष्टमा लागेर फर्कदा चेल्सीले पहिलो हाफमै अग्रता लिने अवसर गुमाएको थियो।

उता घरेलु मैदान एलिएन्ज एरेनामा थोमस मुलर र रोवर्ट लेवान्डान्सकीले २-२ गोल गरेपछि वायर्नले बेसिकटासलाई ५-० ले हरायो।

डोमागोज भिदा १६औँ मिनेटमा रातो कार्ड खाएर मैदान बाहिरिएपछि १० खेलाडीमा झरेको बेसिकटासले वायर्नलाई ४१ मिनेटसम्म बराबरीमा रोकेको थियो। तर मुलरले ४१औँ मिनेटमा गोल गर्दै वायर्नलाई पहिलो हाफमै अग्रता दिलाए।

दोस्रो हाफमा वायर्नले ४ गोल थप्यो। वायर्नका लागि ५३औँ मिनेटमा किंग्सले कोमनले दोस्रो गोल गरे। मुलरले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने लेवान्डास्कीले ७९औँ र ८८औँ मिनेटमा गोल गर्दै
वायर्नलाई ५-० को जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell