
काठमाडौंः गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। आज बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेटमा पुन मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए।
पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन्। गोली लागि घाइते भएका दुबैको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निर्माण व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेल र युवा नेता दुर्गा तिवारीको हत्याको अभियोगमा पुन प्रहरीको खोजी सुचीमा थिए।
गत वर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्याको जिम्मेवारी पुनले नै लिएका थिए।
असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दाबी छ। गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
पुन तत्कालीन माओवादीमा आवद्ध रहेर स्थानीय राजनीतिमा संलग्न थिए। उनलाई दुर्गा तिवारीले नै माओवादीबाट एमालेको युथ फोर्समा आबद्ध गराएका थिए।
जानकार स्रोतका अनुसार एमालेमा छिरेपछि पुन चन्दा असुल्न सक्रिय भएपछि तिवारीसँग विवाद सुरु भएको थियो। जबर्जस्ती चन्दा उठाएको भन्दै पुनलाई कारबाही गर्दै पार्टीले निस्काशन गरेपछि उनले तिवारीको हत्या गरेको खुलेको हो। पुन तिवारीको हत्या अगाडि नै फरार थिए।
पुन भारतमा बसेर नेपालभित्र अपराधिक गतिविधि गर्दै आएका थिए। भारतीय अपराधिक समूहसँग पनि पुनको पछिल्लो समय उठ्बस हुन थालेको प्रहरी स्रोतको दाबी थियो।