PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

प्रहरीका पाँच इन्काउन्टर श्रृंखलाः चरीदेखि मनोज पुनसम्म



सविन ढकाल

प्रहरीका पाँच इन्काउन्टर श्रृंखलाः चरीदेखि मनोज पुनसम्म

काठमाडौँः राजनीतिको आवरणमा गुन्डागर्दीमा संलग्न भएका केही गुन्डा नाइके पछिल्ला वर्षमा प्रहरी इन्काउन्टरमा मारिएका छन्। २०७१ साउनमा काठमाडौँको भीमढुङ्गामा दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरपछि पाँच गुन्डा नाइके प्रहरीको सिकार भइसकेका छन्। मारिएकामध्ये प्रवीण खत्रीको राजनीतिक संलग्नता स्पष्ट छैन। तर, अन्यको उदय दलीय राजनीतिक संगठनबाटै भएको छ।

इन्काउन्टरको सक्रियतालाई कतिपयले भने मानव अधिकार विपरीतको कार्य भन्दै यस्ता घटना नदोहोर्‍याउन प्रहरीलाई आग्रह गर्दै आएका छन्।

यस्ता छन् चर्चामा रहेका प्रहरीका पाँच ठूला इन्काउन्टर।


१ मनोज पुन

गुण्डा नाइके मनोज पुन रुपन्देहीको देवदह नगरपालिका विजयपुरमा बुधबार बिहान प्रहरीको मुठभेटमा मारिएका छन्। गत वर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या, असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा र वसन्त पौडेले हत्याको अभियोगमा प्रहरीले पुनलाई मष्टवान्टेडको सूचीमा राखेर खोजी गरिरहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र रुपन्देही प्रहरी संयुक्त इन्काउन्टरमा पुन मारिएका हुन्।


२ दिनेश अधिकारी 'चरी'

प्रहरीको चर्चित इन्काउन्टरमा पर्छ गुन्डा नाइके दिनेश अघिकारी चरी काण्ड। २०७१ साल साउन २१ गते ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएका थिए।

एसएसपी सर्वेन्द्र खनाल अपराध महाशाखा प्रमुख हुँदा चरी धादिङ र काठमाडौंको सिमाना पर्ने भीमढुङ्गामा मारिएका थिए।


३ कुमार श्रेष्ठ 'घैंटे'

एसएसपी खनाल नै महाशाखाका प्रमुख रहँदा अर्को चर्चित घैंटे इन्काउन्टर भएको थियो। २०७२ साल भदौ ३ गते प्रहरीले सामाखुसी आधार क्षेत्र बनाएर गुन्डागर्दी आएका कुमार श्रेष्ठ ‘घैँटे’लाई काठमाडौंको कपुरधारामा गोली हानेको थियो। ८ गोली लागेका घैँटेको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो।


४ जसवन्त राई

२०७३ साल असारमा गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि राईमाथि प्रहरीले गोली चलाएको थियो।


५ प्रवीण खत्री

ललितपुरमा प्रहरी इन्काउन्टरमा लागुऔषध कारोबार गर्ने प्रवीण खत्रीको मृत्यु भएको थियो। गत असोजमा महानगरीय अपराध महाशाखाको टोलीको इन्काउन्टरमा खत्री मारिएका थिए। तर प्रहरीले यस घटनालाई इन्काउन्टर नभएर खत्री आफैंले सुसाइड गरेको दाबी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell