काठमाडौं : बुधवार बिहानै प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन मारिए। उनी सँगै पुनका 'राइट ह्यान्ड' मानिने सोम आले पनि बाँच्न सफल भएनन्। प्रहरीको गोली लागेका आलेको उपचारको क्रममा लुम्विनी अस्पतालमा मृत्यु भयो। उनको शरिरमा १० गोली लागेको थियो।
४० वर्षीय आलेको परिवार केही वर्षदेखि भैरहवाको सिद्धार्थनगर नगरपालिकामा बस्दै आएको छ। प्रहरीले दिएको जानकारी अनुसार आले गत वर्षको पुस ४ गते युवासंघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यापछि फरार थिए। आले पुनका विशेष सहयोगी मानिन्छन्।
आले गुन्डागर्दी र अपराध गतिविधिमा सामेल हुनुभन्दा अघि भारतीय सेनामा कार्यरत थिए। आलेले भारतीय सेनामा पाँच वर्षसम्म काम गरेको प्रहरी स्रोतले जनायो। अपराधिक गतिविधिमा संलग्नहरुको विलासी जीवन देखेपछि उनले भारतीय सेनाको जागरी छोडेका थिए। सेनामा सार्प सुटर रहेका उनलाई अपराधको दुनियाँमा स्थापित हुन समय लागेन।
खँदिलो शरीर र फुर्तिला आले बक्सिङका च्याम्पियन पनि हुन्। एक प्रहरी अधिकृत भन्छन्, 'आले बक्सिङका राम्रो खेलाडी थिए। उनले विभिन्न प्रतियोगितमा थुप्रै मेडेलसमेत जितेको देखिएको छ।'
दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा सबैखाले व्यवस्थापन आलेले नै गरेको अनुसन्धानमा देखिएको छ। केही समय अघि पौडेलको हत्या आरोपमा पक्राउ परेका पदम चौधरीदेखि अन्य दुई जनाले दिएको बयानमा आलेकै योजनामा काम हुने गरेको उल्लेख छ। प्रहरीको अनुसन्धानमा चौधरी र आलेको पटक पटक मोबाइलमा सम्पर्क समेत हुने गरेको देखिएको थियो।