- किशोर नेपाल
मानिसहरुमा कौतुहल छ : के भइरहेको छ सत्ताको आँगनमा यतिखेर? के गर्दैछन् ओली र प्रचण्ड? ओलीले सबै लिने भए कि क्या हो? प्रचण्डले सबै देलान् र? मन्त्री को-को बन्ला? डा. गोविन्द केसीको के होला? शिक्षा र स्वास्थ्यमा लागेका यति शक्तिशाली माफिया कसरी हट्लान्? यतिबेला नेपाली राजनीतिका हात–पाखुरा र गोडा–तिघ्रा कति बलिया होलान्?
यो गैर संसदीय शून्य समयमा केही राजनीतिक टिप्पणी गर्नु सबैका लागि रोचक कुरा होला। किनभने, प्रसंगका धेरै कुराहरु विसंगत छन्। तर, विसंगत शव्दले वाम–गठवन्धन विरुद्ध नकारात्मक सन्देश प्रक्षेपणगर्ने हुनाले त्यसको प्रयोग नगरेको राम्रो। प्रधानमन्त्री केपी ओली छन भ्याइ नभ्याइमा। बालुवाटार दरवार प्रवेश शाकाहारी भएको बताइयो। प्रधानमन्त्रीले दरवारको गमलामा सुरक्षित विरुवामा जलदान गर्नुभएको पनि देखियो। तर, गृह प्रवेशको शाकाहारी–मांशाहारी चरित्रको जति चर्चा भयो त्यस्तो केही देखिएन । यस्ता कुराको निर्धारण गर्दछ सुरक्षा दस्ताले । सुरक्षा कमाण्डर विहानै विधि–विधान सकेर बसेको पनि हुन सक्दछ । प्रम ओलीलाई बोका काटेपनि बाख्रा काटेपनि मासुको चासो भएन । तर, बालुवाटार दरवारमा मासु खानेको संख्या बढेको बढेकै छ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी पार्टीका अध्यक्ष तथा वाम–गठवन्धनका नेता केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिइ सकेका हुन्। निर्वाचन आयोगले प्रादेशिक र संघीय निर्वाचनका नतीजाहरु राष्ट्रपतिको बाहुली दाखिल गरिसकेको थियो । यो अवस्थामा प्रदेश सभा र केन्द्रीय संसदमा निर्वाचित तथा अन्य किसिमका सदस्यहरुलाई शपथ–ग्रहण गराइ सकेपछि मात्रै प्रधानमन्त्रीको शपथ ग्रहण भएको भए सुनमा सुगन्ध हुने थियो। यो पटक सुनमा सुगन्धको थोपा चुहुन पाएन।
एमाले र माओवादी “कामरेड इन आर्म्स ” भएर चुनाव लडेका थिए। चुनाव सकिएपछि यी कामरेडहरु कहिले सहमति र कहिले विमतिमा देखिएका छन्। जनयुद्धका जब्बर कमाण्डर प्रचण्ड अहिले पनि राजनीतिको शीर्षमा छन्। तर, उनमा मसान वैराग्य चढेको छ। प्रचण्ड चन्चल नेतामा पर्छन्। तर, छोरा प्रकाशको अस्वाभाविक निधनपछि उनी बढी नै चन्चल भएका छन्। एक ठाउँमा स्थीर ढंगले टिक्नै सकेका छैनन्। यो त हुनु नै थियो।
प्रचण्डजीसँग काँधमा काँध मिलाएर हिंडेकी उनकी धर्मपत्नी सीताका आँखाबाट प्रकाशको सम्झनामा अविरल बहने आँशुले पनि उनीहरुको जीवनमा उत्तिकै असर पारेको छ। यसमा शंका नगरे हुन्छ। जसको सन्तानको मृत्यु आफू जीवित रहेका बेला हुन्छ, त्यो व्यक्ति अभिशप्त हुन्छ। जनयुद्धका जब्बर कमाण्डर हुन् प्रचण्ड भन्दैमा त्यो अभिशापबाट उनी तुरुन्तै मुक्त हुने कुरा पनि आएन।
यतिबेलाको सत्ताको भोगप्रति जति अनुराग प्रधानमन्त्री ओलीका आँखामा देखिन्छ, प्रचण्डको आँखामा त्यति नै वितराग देखिन्छ। केपी ओलीसँग मिलेर बनाएको गठबन्धनले चुनाव जितेको तथ्य स्वीकार गरेर पार्टी नै एक बनाउने अभियानमा हिंडेका प्रचण्डले “प्याकेजमा सहमति” किन भनेको ? भाषा कसैले बुझ्दैन। तर, जुन अनिश्चयात्मक शैलीमा प्रचण्ड बोली रहेका छन् त्यसबाट सजिलै अनुमान लगाउन सकिन्छ, अहिलेको वामपन्थी गठवन्धन चुनावी हो, वैचारिक र रणनीतिक होइन।
प्रचण्डलाई थाह नभएको होइन, चुनावमा वामपन्थी गठबन्धनको विजयले कम्तीमा पनि शहर–बजारका जनतालाई मात्र होइन, राजनीतिबाट निरपेक्ष मानिसलाई समेत उत्साहित तुल्याएको छ। शाहवंशका संस्थापक राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका काजी कालु पाँडेको जयन्ती मनाउन सपत्नी दहचोक पुगेका छन प्रधानमन्त्री। उनका सहयोगीहरु कालुका समयका वीर योध्दाहरुको स्मृतिमा फूल बर्साउन व्यस्त छन्। अचम्म छ, अहिलेसम्म पृथ्वीनारायण शाहलाई ऋृणदिने वीर योध्दा विशे नगर्चीको स्मृतिमा राजधानीमा कुनै समारोह गरिएको जानकारी पाएको छैन ।
के होला ? के प्रचण्डले राजनीतिको लो–प्रोफाइल धान्न सक्लान ? त्यसको सम्भावना कम छ । उनी राजनीतिमा लो–प्रोफाइल वस्ने राजनीतिज्ञ होइनन । छोरो मरेकोछ । छोरी मरेकी छिन । टाउकाभरी आरोप गुताइ दिएका छन विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाले। नेपालको हकमा धान्ने नसकिने जुन हिंसात्मक संरचनाको निर्माण उनले गरेका थिए त्यसको टुंगो लागेको छैन । उनी राजनीतिको लो–प्रोफाइलमा बसे भने निरुपणहुन नसक्ने सत्य–तथ्यका हिसाव कितावमा फर्मूलाको प्रयोग कसले गर्ला ?
अहिले यस्तै छ : ओली निवासमा उल्लास छ, प्रचण्ड निवासमा उच्छ्वास छ । प्रचण्डलाई थाहा छ, यो गठबन्धन चाहेर पनि कतै पुग्न सक्दैन । केपी ओलीलाई थाहा छ, यो गठवन्धनले आश्वासन वाँढन सक्दछ, पूरागर्न सक्दैन । देश संघीय बनेको छ । तर, बालुवाटार दरवारजाने मूलबाटो निकै निकै निकै अप्ठेरो छ।