PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

महिला राष्ट्रिय क्रिकेट : एपीएफ, मध्यमाञ्चल र सुदूरपश्चिम सेमिफाइनलमा



पहिलोपोस्ट

महिला राष्ट्रिय क्रिकेट : एपीएफ, मध्यमाञ्चल र सुदूरपश्चिम सेमिफाइनलमा

धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा विभागीय टोली एपीएफ र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहीवार भएको खेलमा जित हात पार्दै दुवैले अन्तिम चारमा स्थान बनाएका हुन्। समूह ए मा लगातार दुई खेल हारेको पश्चिमाञ्चल भने प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै पहिलो खेलमा पश्चिमाञ्चललाई हराएको घरेलु टोली सुदूरपश्चिम एक खेल खेल्नुअघि नै सेमिफाइनल पुगेको छ।

अब मध्यमाञ्चल र सुदूरपश्चिमबीच हुने खेलको विजेता समूहविजेता बन्नेछ। यसैगरी लगातार दुई जितपछि एपीएफ समूह बी को विजेता बन्दै अनतिम चारमा पुगेको हो।

बिहीवारको पहिलो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओरभमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो। मध्यमाञ्चलका लागी सीता श्रेष्ठले ४५ बलमा ४९ रन बनाईन। यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रन जोडिन्। २० रनमै २ विकेट गुमाएर धर्मराएको मध्यमाञ्चलको पारीलाई कञ्चन र सीताले ८२ रनको साझेदारी गर्दै सम्हालेका थिए। बलिङमा पश्चिमाञ्चलकी कप्तान बर्षा रानाले १ विकेट लिईन्।

११४ रनको लक्ष्य पछ्याएको पश्चिमाञ्चलले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ६९ रन मात्रै बनाउन सक्यो। पश्चिमाञ्चलका लागी नितु भण्डारीले १० रन बनाइन। अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। पश्चिमाञ्चललाई कम स्कोरमा रोक्न मध्यमाञ्चलकी अश्विनी कर्माचार्य र आरती विराडीले २-२ विकेट लिइन् भने पश्चिमाञ्चलका २ जना रन आउट भए। नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ घोषित भईन्।

यस्तै समूह बी अन्तर्गत लगातार दोस्रो जित हात पार्ने क्रममा एपीएफले पुर्वाञ्चललाई ४ विकेटले हरायो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाएर ६४ रन मात्रै बनाउन सक्यो। पूर्वाञ्चलका लागी कप्तान रुवीना क्षेत्रीले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। एपीएफकी सोनु खड्काले २ विकेट लिइन्।

६५ रनको सामान्य लक्ष्य १५.५ ओभरमा पूरा गर्दा एपीएफले ६ विकेट खर्चियो। पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको कसिलो बलिङसामु एपीएफको इनिङ्स केही धर्मराएको थियो। ७ रन बनाउँदा ५ विकेट गुमाएको एपीएफलाई जितसम्म पुर्‍याउन करुणा भण्डारी र ममता चौधरीले छैठौँ विकेटका लागी २२ रनको साझेदारी गरे। चौधरी १६ रन बनाएर आउट भइन्। त्यसपछि भण्डारीले ईन्दु बर्मासँग सातौँ विकेटका लागि ३७ रनको साझेदारी गर्दै एपीएफलाई जित दिलाइन्। भण्डारी र बर्मा समान १६ रनमा नटआउट रहे।

कलिङ रुवीना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकिनन्। नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी घोषित भइन्।

प्रतियोगीताअन्तर्गत शुक्रवार पहिलो खेलमा पुर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोश्रो खेलमा सुदूरपश्चिम र मध्यमाञ्चल भिड्नेछन्। समूह बी अन्तर्गत पूर्वाञ्चल र मध्यपश्चिम बीच हुने खेलको विजेता सेमिफाइनल पुग्नेछ।

प्रतियोगिताको विजेताले ५ तथा उप–विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell