PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रदेश २ मा प्रतिपक्षी को? कांग्रेस हुँदै 'घरको न घाटको'



बीपी साह

प्रदेश २ मा प्रतिपक्षी को? कांग्रेस हुँदै 'घरको न घाटको'

काठमाडौं : प्रदेश नम्बर २ मा प्रतिपक्षी दल कुन हुने भन्नेमा विवादले कांग्रेसलाई नराम्ररी झस्क्याएको छ। निर्वाचनदेखि बनेका गठबन्धन भत्केर सरकार बन्दासम्म यहाँको राजनीतिक समिकरणहरु छिन्नभिन्न भइसकेका छ जसले गर्दा प्रदेश नम्बर २ मा कांग्रस 'घरको न घाट'को हुनसक्ने अवस्था आउन सक्छ।

प्रदेश २ का एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले पहिलोपोस्टसँग भने, ‘हामीले प्रदेश २ मा टिकाउ सरकारका लागि फोरमका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हौं। तर, हामी प्रतिपक्ष मै बस्ने हौं। यो शर्त हामी पहिले नै राखिसकेका छौं।’

पहिलेदेखि नै आफूहरु प्रतिपक्षमा बस्ने भन्दै आएको नेकपा एमालेका सांसदहरुले बिहीवार मधेशी गठबन्धनको सरकारलाई विश्वासको मत दियो। तर, विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने र प्रतिपक्षी दलका नेता आफ्नै पार्टीबाट हुने दाबी एमालेले गरेको छ। सत्तालाई साथ दिँदै कांग्रेसलाई माथ दिने एमालेको रणनीतिको विरुद्धमा छ नेपाली कांग्रेस।

मधेशसँग नजिक रहेको दल नेपाली कांग्रेस मधेशमा आधारित दलसँग टाढिँदै गएको छ भने मधेशमा सबैभन्दा चर्को नारा लागेको नेकपा एमाले मधेशमा आधारित दलसँग नजिकिँदै गएको छ। सत्तामा मधेशी गठबन्धनलाई दुई तिहाईको सफलता दिलाउँदै विपक्षमा पनि आफ्नो वर्चश्व राख्ने खेलमा नेकपा एमाले क्रमश: सफल बन्दैछ। प्रदेश नम्बर २ मा एमालेको रणनीति सफल भएमा नेपाली कांग्रेस न सत्तासँग जोडिन्छ न प्रतिपक्षी नै बन्ने हैसियतमा रहन्छ। 

तर, नेपाली कांग्रेसले भने एमालेले मधेशी गठबन्धनको सरकारलाई विश्वासको मत दिएपछि उनीहरु पनि सत्तापक्ष भएको दाबी गरेको छ। र, प्रतिपक्षको कुर्सी आफ्नो भएको बताउन थालेको छ। 

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पहिलोपोस्टसँग भने, ‘एमालेले सरकारलाई समर्थन गरेकोले अब प्रतिपक्षमा हामी भएका छौं। एमालेले वाइह्यातको बखेडा गर्दैछ। यो कतै नभएको अभ्यास गर्न खोज्दैछ।’

यादवले आफु प्रतिपक्षी दलको नेता भएको दाबी गर्दै सभामुखलाई भेटेर जानकारी गराइसकेको बताए।

शुक्रवार यादवले सभामुख सरोज यादवलाई भेटेर दाबीसमेत प्रस्तुत गरेका छन्। 

आफू नै प्रतिपक्षी दलको नेता हुने दावी गर्दै एमालेका मण्डलले भने, ‘हामी संसदीय अभ्यासमा नयाँ अभ्यासको थालनी गर्दैछौं। तर, हामी सदनको कुरालाई मान्न पनि तयार छौं।’

प्रदेश दुईका संसदीय सचिवालयका सचिव वंशीराज पौडेलले यस विषयमा आइतबार संसद सचिवालयमा छलफल हुने बताए।

तर, सत्ताको खेलमा प्रदेश नम्बर दुईमा अहिले बनेको समिकरणले राष्ट्रिय राजनीतिमा सोझो सन्देश प्रवाह गर्दैछ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले मधेशमा सबैभन्दा बढी एमालेविरोधी नारा लगाएका थिए। तर, बदलिँदो समिकरणले उनीहरुलाई आफ्नो पुरानो नारामा सोच्न बाध्य बनाएको छ भने केन्द्रीय सत्तामा आसिन हुने अवसर पनि जुटाएको छ। प्रदेश नम्बर २ को संसदीय खेल प्रतिपक्षी को हुने भन्ने खेलको जुन मोडमा पुगेर टुंगिन्छ त्यहीबाट नयाँ अध्याय सुरु हुनेछ – केन्द्रीय सत्तामा मधेशका दलहरुको समावेश हुने या नहुने प्रकरण। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell