धनगढी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधीको लागि विभागीय टोली एपीएफ र पूर्वाञ्चल भिड्ने भएका छन्। शनिवार भएको सेमिफाइनलमा एपीएफले सुदूरपश्चिमलाई ८१ तथा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्।
पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले काजोल श्रेष्ठको नटआउट ५५ रनको मद्दतमा २० ओभरमा २ विकेट गुमाएर ११९ रन बनाएको थियो। पूर्वाञ्चलका लागी अप्सरी बेगमले ३२ रन बनाइन् भने कप्तान रुविना क्षेत्री १४ रनमा नटबउट रहिन्। मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिईन्।
१२० रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्रै बनाउन सक्यो। मध्यमाञ्चलका लागी कञ्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाईन्। बलिङमा पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिईन्। यस्तै सवनम राई, सन्तोषी चौधरी र संगिता राईले समान १ विकेट लिईन्। प्लेयर अफ द म्याच पुर्वाञ्चलकी काजोल श्रेष्ठ घोषित भईन्।
दोस्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो। एपीएफका लागी सीता रानामगरले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५१ रन बनाइन्। यस्तै सरीता मगरले ३७ र ज्योती पाण्डेले १८ रन बनाईन्। बलिङमा सुदूरपश्चिमका लागी सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले १-१ विकेट लिईन्।
१३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली सुदूरपश्चिम १९ ओभरमा ५१ रनमै अलआउट भएपछि एपीएफले फराकिलो जित हात पारेको हो। सुदूरपश्चिमका लागी निशा भट्टले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। सुदूरपश्चिमलाई अलआउट गर्न एपीएफकी सीता मगर, र करुणा भण्डारीले ३-३ विकेट लिए भने अन्जली चन्दले २ विकेट लिईन्। प्लेयर अफ द म्याच सीता राना मगर भईन्।
अब एपीएफ र पूर्वाञ्चलबीच फाइनल खेल भोली आइतवार फाप्ला क्रिकेट मैदानमा हुनेछ। विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।