
काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलको बैठक सकिएको छ। माओवादी पार्टी कार्यालय पेरिसडाँडामा एमाले वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा बसेको बैठकले आजदेखि प्रतिवेदन लेखनलाई अगाडि बढाउने निर्णय गरेको छ।
पार्टी एकतालाई अगाडि बढाउनका लागि दुई दलबीच गठन भएको पार्टी एकता संयोजन समितिको बैठकले एमाले नेता माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो।
आज बसेको कार्यदलको बैठकले प्रतिवेदन लेखनका लागि दुई दलका दस्तावेज, नीति, प्रतिवेदनहरुको अध्ययन गर्ने निर्णय गरेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए।
बैठकले पार्टी एकताको गृहकार्यलाई अगाडि बढाउनका लागि दुबै कार्यदलको संयुक्त बैठक बस्ने समेत निर्णय गरेको छ।