
आर्सनललाई ३-० ले पराजित गर्दै म्यानचेष्टर सिटिले इंगलिस लिग कप अर्थात इएफएल कपको उपाधि जितेको छ। म्यानेजरको रुपमा पेप गोर्डिओलाको इंगलिस क्लबमा यो पहिलो उपाधि हो। सन् २०१६ मा जर्मन क्लब वायर्न म्युनिख छाडेर इंगल्याण्ड पुगेयता उनी उपाधिविहिन थिए।
तर फाइनलमा सर्जियो अगुएरो, भिनसेन्ट कोम्पनी र डेभिड शिल्भाले बर्सनल विरुद्ध गोल गर्दै सिटीलाई च्याम्पियन बनाएपछि गोर्डिओलाले इंगल्याण्डमा पहिलो ट्रफी हात पारे। यसअघि स्पेन र जर्मनीमा सफल प्रशिक्षकको रुपमा काम गरिसकेका गोर्डिओलाले प्रिमियर लिगमा पनि सिटीलाई उपाधि यात्रातर्फ लम्काईरहेका छन्।
२००८ देखि २०१२ सम्म बार्सलोनाको प्रशिक्षक रहदा उनले कूल १४ उपाधि जिताएका थिए।
उता सिटीले यस सिजन जितेको यो पहिलो उपाधि हो। सिटी एफए कप बाट भने बाहिरिसकेको छ र ट्रेबल जित्ने सम्भावना सकिएको छ। तर लिगमा भने सिटी दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भन्दा अझै १३ अंकले अगाडी छ र एक खेल कम खेलेको छ।