काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु सम्मिलित गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रले नामावली दिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ।
अपराह्न शपथ गर्नेगरी तयारी थालिएको छ। यसअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।
मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटबार्ता हुँदैछ। बिहान ९ बजे भेटवार्ताको समय तय भए पनि अहिलेसम्म छलफल सुरु हुन् सकेको छैन।
दुई अध्यक्षको भेटमा माओवादी अध्यक्षबाट मन्त्रीको नामावली पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
एमालेमा भने अध्यक्ष ओलीलाई नै मन्त्री छनोटको जिम्मेवारी गत शुक्रबारको स्थायी समिति बैठकले दिइसकेको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथको तयारीका लागि दिउँसो ३ बजेपछिको समय मिलाउन आग्रह भएको छ।
वाम गठबन्धनबीच भएको सहमति अनुसार अब एमालेले सात मन्त्री थप गर्नेछ। माओवादीले पनि सातवटै मन्त्रालय पाएको छ।
यी हुन् सम्भावित मन्त्री
एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीको नाम मन्त्रीमा निश्चित भइसकेको छ। यस्तै, योगेश भट्टराई, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र नारदमुनि रानाको पनि मन्त्रीमा करिव निश्चित छ। सूर्य चिह्न लिएर चुनावमा होमिएका हृदयश त्रिपाठी तथा बृजेश गुप्तामध्ये एक मन्त्री हुने एमाले स्रोतको दाबी छ।
पहिलो चरणमा एकजना महिलालाई मन्त्रिपरिषदमा सहभागी गराएको एमालेमा दोस्रो पटकको विस्तारमा महिलाको नामावली छैन। गत शुक्रबारको स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मेवारी ओलीलाई दिएको थियो।
माओवादीले गृहसहित ७ मन्त्रालयले पाउने सहमति भएको छ। तर, गृह विवादका कारण माओवादीले मन्त्रीको नामावली टुंग्याउन सकेको थिएन । सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्नेमा भने माओवादीमा करिव सहमति छ। गृहमा बादलसहित, जनार्दन शर्मा र वर्षमान पुनको पनि दाबी छ।
माओवादीका सबै प्रभावशाली नेताहरु मन्त्रीको दौडमा छन्। बादल, शर्मा र पुनसहित माओवादीबाट बिना मगर मन्त्री बन्ने करिव निश्चित छ। पम्फा भुसाल, शक्ति बस्नेत, अग्नि सापकोटा, अमनलाल मोदी तथा सुरेश कुमार राई पनि मन्त्रीको अन्तिम दौडमा छन्।
यसअघि प्रधानमन्त्रीसँगै एमालेबाट लालबाबु पण्डित तथा थममाया थापाले मन्त्रीको शपथ लिइसकेका छन्।