काठमाडौँः राष्ट्रिय जनता पार्टीका सांसद् रेशमलाल चौधरीले आत्मसमर्पण गरेका छन्। चौधरीले जिल्ला अदालतल कैलालीमा सोमबार बिहान आत्मसमर्पण गरेको एसपी बिनोद घिमिरेले बताए। टीकापुर घटनाका मुख्य आरोपित उनी लामो समयदेखि फरार रहेका थिए।
प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए। टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए।
फरार रहेका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। तर, अदालतले वारेसमार्फत् प्रमाणपत्र दिन नमिल्ने आदेश गरेको थियो।
चौधरीलाई जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।