काठमाडौं : प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन नमारिएको भने के हुन्थ्यो? प्रहरी अनुसन्धानले एउटा तथ्य खुलासा भएको छ - उनको मृत्यु कतिपयका लागि 'सुखद्' क्षण बनाएको छ। यद्यपि उनको प्रहरी इन्काउन्टर आफैँमा संदेहको घेरबाट बाहिर छैन।
प्रहरीका अनुसार मनोजले देशका ठूलादेखि साना व्यवसायीको सूची तयार पारेका थिए – फिरौतीका लागि। पुनको डायरीमा अटाएका व्यवसायीका लागि उनको निधन एउटा त्रासको अन्त्य बन्यो।
गत बुधवार देवदहमा मनोज पुन प्रहरीको इन्काउन्टरमा मारिएका थिए। अनुसन्धनामा खटिएका प्रहरीका अनुसार पुनको साथबाट प्रहरीले दुई वटा डायरी फेला पारेको छ। हो, त्यही डायरीमा सूचीकृत थिए – मनोजका 'सिकार'।
'दुवै डायरीमा पुनले व्यापारीको नाम, नम्बरदेखि ठेगाना समेत अटाएका छन्,' पुनको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले पहिलोपोस्टसँग भने' फिरौती रकम माग्नको लागि उनले व्यापारीको लिस्ट नै बनाएका रहेछन्। दुईवटा डायरी पूरै भरिएको पाइयो।'
पुनको डायरीमा सबैभन्दा बढी रुपन्देही, चितवन, काठमाडौं र भक्तपुरका व्यवसायीको सूची रहेको प्रहरीको दावी छ। केही महिनाअघि पुनले भक्तपुरका एक व्यपारीसँग २ करोड रुपैयाँ मागेको समेत डायरीमा नोट गरिएको फेला परेको छ। पुनले पैसा नदिए दुईवटा छोरा मध्ये एकको गोली हानी हत्या गर्ने धम्की समेत दिएका थिए।
मागेको, दिएको र लिन बाँकी
पुनले आफ्नो डायरीमा को व्यपारीसँग कति रकम लिएको, कहिले लिएको, कति दिएको र दिन बाँकी रकमको महल नै बनाएर फिरौती उठाएको देखिएको छ। पुनले धेरै व्यपारीलाई फिरौती दिने अल्टिमेटम समेत तोकेको डायरीको विवरणले देखाउँछ। अनुसन्धान अधिकृतले भने, 'कसैलाई चैत कसैलाई वैसाखसम्मको भाका दिएको समेत डायरीमा छ।'गत बुधवार प्रहरीको इन्काउन्टरमा रुपन्देहीको देवदह नगरपालिका भवानीपुरमा गुन्डा नाइके पुन र उनका सहयोगी सोम आलेको प्रहरीको गोलीले मृत्यु भएको थियो।