PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

फोरम आजै सरकारमा सहभागी नहुने, राजपासँग छलफलको प्रयास



बीपी साह

फोरम आजै सरकारमा सहभागी नहुने, राजपासँग छलफलको प्रयास

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी तय भए पनि औपचारिकता पाउन बाँकी छ। 

प्रधान मन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोरम अध्यक्ष उपेन्द्र यादवले छलफल गरेपछि सरकारमा जाने तय भएको हो। सत्तारुढ दलका दुई शीर्ष नेताले संविधान संशोधनको विषय कुनै न कुनै रुपमा समेट्न तयार भएपछि फोरम सरकार जाने बाटो खुला भएको हो।
 
फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार सरकारमा सहभागिताका विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। श्रेष्ठले पार्टीभित्र औपचारिक छलफल नभएको बताए।

फोरमका महासचिव रामसहाय प्रसाद यादवले भने, ‘संविधान संशोधनको प्रतिवद्धता आएपछि मात्र सरकारमा सहभागिताको सम्भावना छ। उताबाट संशोधनको प्रस्ताव आएपछि हामीले औपचारिक निर्णय गर्नेछौं। त्यसैले आजै सरकारमा सहभागी हुने सम्भावना छैन।’

उपेन्द्र यादव र एमाले तथा माओवादीका अध्यक्षबीच छलफल भए पनि औपचारिक निर्णय भइसकेको छैन।  

यता एमाले र माओवादी नेताहरुले राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफलको प्रयास थालेका छन्। अनौपचारिक छलफल सुरु भए पनि औपचारिक रुपमा छलफल अघि बढिसकेको छैन। राजपा अध्यक्षमण्डलका केही नेताले आज बिहान एमालेका नेतासँग छलफल गरेका छन्। तर, पार्टी संयोजक महन्थ ठाकुरको सचिवालयका अनुसार ठाकुरसँग भने कुनै कुराकानी भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell