PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

मन्त्रिपरिषद् विस्तार हुँदै: राष्ट्रपति कार्यालयमा तयारी शुरु



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तार हुँदै: राष्ट्रपति कार्यालयमा तयारी शुरु

काठमाडौंः आज ४ बजे मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयमा तयारी सुरु भइसकेको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् विस्तार र शपथको समय तोकिएपनि को को मन्त्री बन्ने विषय औपचारिक रुपमा बाहिर आएको छैन। 
मन्त्रिपरिषद् विस्तारको बिषयमा आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। 

माओवादी रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सरकारमा सहभागी हुँदै छ। बादलले ओली नेतृत्व सरकारको गृह मन्त्रालय सम्हाल्ने पक्कापक्की भइसकेको छ। उनीसँगै जनार्दन शर्मा, वर्षमान पुन र प्रचण्डकी बुहारी बिना मगर मन्त्री बन्ने चर्चा छ।

यता पम्फा भुसाल, शक्ति बस्नेत, अग्नि सापकोटा, अमनलाल मोदी तथा सुरेशकुमार राई पनि मन्त्रीको अन्तिम दौडमा छन्।

माओवादीले गृहसहित ७ मन्त्रालयले पाउने सहमति भएको थियो।

एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीको नाम मन्त्रीमा निश्चित भइसकेको छ। यस्तै, योगेश भट्टराई, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र नारदमुनि राना पनि मन्त्री बन्ने सूचीमा परेका छन्। सूर्य चिह्न लिएर चुनावमा होमिएका हृदयश त्रिपाठी तथा बृजेश गुप्तामध्ये एक मन्त्री हुने एमाले स्रोतको दाबी छ।

यसअघि प्रधानमन्त्रीसँगै एमालेबाट लालबाबु पण्डित तथा थममाया थापाले मन्त्रीको शपथ लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell