PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

अनि यसरी भयो भीषण आगलागी…



सागर बुढाथोकी

अनि यसरी भयो भीषण आगलागी…

काठमाडौं : पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको खबर पौने १० बजे नै फैलियो। खबर सुन्नासाथ हामी घटनास्थल पुग्यौं। घटनास्थल पुग्दा आगोको मुस्लो छुटिरहेको थियो। पाचौं तल्लामा रहेको एनआइसी कन्सल्टेन्सीमा दन्किएको आगोको मुस्लो छेउछाउका घरतिर सर्दै थियो। मानिसहरु के गर्ने कसो गर्ने आत्तिँदै थिए।  

आगो निभाउन दमकल भर्खर आएको थियो। सडकभरि सर्वसाधारण आगोको असर हेर्दै थिए। सडक खाली गरिएको थियो। यातायात बन्द।  सडकमा भेला भएका मानिस सम्हाल्न प्रहरीलाई हम्मे हम्मे परिरहेको थियो। अग्नि नियन्त्रकको आगलगीको प्रयास सफल हुन सकेको थिएन्। किनकि, त्यतिबेलासम्म आगो निभाउन एउटा मात्रै दमकल थियो।

पत्रकारहरु आगोलगी भएको घरसँगै जोडिएको छतमा गएर फोटो लिन थालिसकेका थिए। कोही सडकबाट जनतालाई सूचना दिइरहेका थिए। छेउकै घरमा पनि धुँवाको मुस्लोले छिर्न नसक्ने अवस्था थियो। वल्लो घरको अफिसबाट मानिसहरु महत्वपूर्ण कागजात निकाल्न व्यस्त थिए।

आगो सल्कने सम्भावना देखेपछि प्रहरीले सबैलाई तल झारे। छतबाट फोटो लिइरहेका पत्रकारहरु प्रहरीको चेतावनी सुनेपछि सडकमै उत्रन बाध्य भए। प्रहरीको चेतावनी थियो— ‘हरेक फ्ल्याटमा ग्यास छ। आगो यता आउँदैछ बाच्न मन छ कि छैन्?’ 

केही क्षणपछि आगो निभाउन ६ वटा दमकल आयो। बिस्तारै आगो नियन्त्रण भयो। पत्रकारहरुले आगलागीको  कारण सोध्दै थिए, प्रहरीपिच्छे जवाफ फरक। पत्रकारहरुले आफ्नो मिडियामा फरक फरक सूचना टिपाइरहेको थिए।

एउटै घटनाको फरक मिडियापिच्छे फरक जानकारी आइरहेको थियो। कोही सर्ट सर्किटले आगो लाग्यो भन्दै थिए, कोही ग्यास लिक भएर। प्रेसर कुकर पड्केर र ग्यास पड्केर आगलागी भएको भन्ने समाचार पनि आइरहेको थियो।

अग्नि नियन्त्रक भन्दै थिए,  ‘आगलागीको कारण थाहा छैन। त्यहाँ के कति सामान थियो,  क्षति के भयो जानकारी भएन।’ 

आगो कसरी र किन लाग्यो? कोहीबाट आधिकारिक जवाफ आएको थिएन।

हामीले आगलागी भएको फ्ल्याटमा काम गर्ने लक्ष्मी घिमिरेलाई सोध्यौ। एनआइसी कन्सल्लटेन्सीकी उनले कारण यसरी सुनाइन्— म बिहानै अफिस आइसकेको थिए। विद्यार्थी र अफिसका सरहरु सबैजना आइसक्नु भएको थियो। चिया नास्ता खाइसकेपछि म खाना बनाउन तयारी गर्दै थिएँ। सधै जसो ४५ जनालाई खाना बनाउनुपर्ने थियो। १२ बजे खाना तयारी गर्नुपर्थ्यो। 

क्लासमा विद्यार्थीहरु थिए। अफिसमा सरहरु। २ जना दिदीहरु बाहिर गफ गर्दै थिए। किचेनमा म एक्लै। म दाल एकातिर बसालेर खाना बसाल्ने तयारीमा थिएँ। त्यत्तिकैमा ग्यासको पाइप लिक भयो। ग्यास गनाउन थाल्यो। मैलै रेगुलेटर बन्द गर्न भ्याइन। ग्यास पड्कन लाग्यो। हामी सबै जना भाग्यौं। कसैलाई केही भएन। ग्यास पड्केपछि आगलागी भयो। त्यसपछि सरहरुले दमकल बोलाउनु भयो। घटना पौने १० बजेको हो।

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएर नियन्त्रणमा आइसकेको छ। ग्यास लिक भइ सुरु भएको आगलागी ६ वटा दमकलले नियन्त्रण गरेको थियो।

जुद्ध वरुण यन्त्र काठमाडौं र भक्तपुरका गरी ४, काठमाडौं महानगरपालिका २ वटा दमकलले आगलागी नियन्त्रण गरेका थिए। क्षतिको विवरण आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell