PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मातृका यादवको दोस्रो ‘इनिङ्ग्स’मा पनि झट्का: पदभारपछि पहिलो फाइलमै गरेनन् हस्ताक्षर



बीपी साह

मातृका यादवको दोस्रो ‘इनिङ्ग्स’मा पनि झट्का: पदभारपछि पहिलो फाइलमै गरेनन् हस्ताक्षर

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादव दोस्रोपटक मन्त्री बनेका छन्। यादवले आजै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

सोमबार माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्रीले शपथ ग्रहण गर्दा यादवले मैथलीमा शपथ लिएका थिए। यादवले सोमवार वाणिज्य मन्त्रालयमा पदभार सम्हालेका छन्।

तीनवटा बेग्ला–बेग्लै मन्त्रालयलाई एकीकृत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइएको छ। तर अहिले पनि तीनवटै मन्त्रालय फरक–फरक स्थानमा छन्।

मन्त्रीले शपथग्रहण गरी पदभार ग्रहण गर्दा पहिलो दिन नै एउटा निर्णय गर्ने परम्परा छ। तर, यादवले त्यो परम्परा तोडेका छन्।

शपथपछि राष्ट्रपति कार्यालय शीतल निवासबाट सिंहदरबारस्थित मन्त्रालय पुगेका यादवले पदभार ग्रहण गरेलगतै परम्परा अनुसार मन्त्रालयका सचिवहरुले निर्णयका लागि एउटा फाइल ल्याए। 

तर मन्त्री यादवले त्यस फाइलमा हस्ताक्षर गर्न मानेनन्। 

दुई सचिव र आधा दर्जन सहसचिवहरुको उपस्थितमा मन्त्री यादवले भने, ‘नपढिकन कुनै फाइलमा सही गर्दिन। पहिले पढ्छु, त्यसपछि मात्र सही गर्छु।’

मन्त्री यादवलाई पदभार ग्रहण गरेको समयमा एउटा निर्णयमा हस्ताक्षर गर्नैपर्ने परम्परा रहेको सचिवहरुले सम्झाए। ढुवानी पारवहन सम्बन्धी एक फाइलमा सचिवहरुले हस्ताक्षर गर्न आग्रह गरेका थिए।

तर पनि यादवले हस्ताक्षर गर्न मानेनन्।
 

यादवको दोस्रो इनिङ्ग्स

यादव यसअघि वन तथा भूसंरक्षण मन्त्री भएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा यादव मन्त्री भएका थिए।

कडा स्वभावका मानिने नेता यादव यसअघि मन्त्री छँदा काम गर्नमा ढिलासुस्ती गरेको भन्दै कर्मचारीलाई शौचालयमा थुन्दा चर्चामा आएका थिए। 

त्यसपछि सिराहाको दलित बस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डसँग विवाद हुँदा यादवले राजीनामा गरेका थिए। प्रधानमन्त्रीले दलित बस्ती हटाउन चाहेका थिए भने यादवले दलित बस्ती बसाइ राख्न खोजेका थिए। 

यसै विषयमा कुरा नमिल्दा यादवले पार्टी छोडेर नेकपा (माओवादी) गठन गरेका थिए। केही वर्षसम्म पार्टी चलाएका यादव स्थानीय निकायको निर्वाचन ताका माओवादीसँग मिसिएका थिए।

यादव धनुषा क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य चुनिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell