
काठमाडौं: बलिउड अभिनेत्री श्रीदेवीको मृत्युका बारेमा नयाँ ट्विस्ट सार्वजनिक भएको छ। कार्डियक एरेस्टको कारण मृत्यु भएको भनिएको श्रीदेवीको बाथ टबमा डुबेर मृत्यु भएको तथ्य सार्वजानिक भएको हो। संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको मृत्यु प्रमाणपत्रमा उनको मृत्युको कारण ‘डुबेर’ भनिएको छ।
चर्चित अभिनेत्री श्रीदेवीको २४ फेब्रुअरीको राति दुबईमा मृत्यु भएको थियो। भतिजाको बिहेमा सहभाही हुन परिवारका साथ दुबई गएकी उनले अन्तिम सास दुबइमै लिएकी थिइन्।
‘गल्फ न्युज’ का अनुसार दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय दूतावासका लागि जारी गरेको प्रतिवेदनमा मृत्युको कारण ‘दुर्घटनावश डुब्नु’ लेखिएको छ। पोस्टमार्टम रिपोर्ट र बाँकी औपचारिकता पूरा गरेपछि मात्रै शव भारत ल्याइने बीबीसीले जनाएको छ।
५४ वर्षीया श्रीदेवीले फिल्मी करियरका दौरानमा झण्डै तीन सय फिल्महरुमा काम गरेकी थिइन्। श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो। उनले चार वर्षकै उमेरमा तमिल फिल्म ‘कंधन करुणई’ बाट फिल्मी करियरको शुरुआत गरेकी थिइन्।