काठमाडौं : बुधवार प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए। उनको मृत्युसँगै प्रहरीको टाउको दुखाई केही हदसम्म कम भयो। मनोज पुनको भयले सर्वसाधारणमाथि गरेको राज पनि घट्यो। पुनको हिट लिस्टमा परेर धम्की भोगिरहेकाहरुले शान्तिको सास फेरे। तर, अपराधको दुनियाँको एउटा प्यादाको अवसानले अपराध निमिट्यान्न होला त? मनोज पुन व्यक्तिभन्दा प्रवृत्ति हो जो फेरि जन्मिन सक्छ।
मनोज पुन अपराधको दुनियाँका योजनाकार थिए कि अपराधको भरियामात्र? प्रहरी स्रोत भन्छ : अपराधको रिमोट अरु कसैले हातमा थियो जसको इसारामा मनोज पुन चल्थे। प्रहरी अनुसन्धानले भन्छ त्यो रिमोट थियो – जोगिन्दर सिंहको हातमा जसको मास्टर प्लान अनुसार पुन चल्थे।
आखिर को हुन् जोगिन्दर?
दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके 'जोगा' भनिने जोगिन्दर सिंह कुख्यात अपराधी हुन्। नेपाल प्रहरीभित्र उनको पहिचान 'बिटु' हो। करिब ४५ वर्षीय जोगिन्दर भारतीय भए पनि उनको ससुराली हो नेपाल।रुपन्देहीलाई ससुराली बनाएका उनको उनको एक सन्तान छ। पत्नीसँग सम्बन्ध चिसिएपछि उनी भारतमा बसेर अपराधिक गतिविधि गर्दै आएका छन्। शुरुमा इलेक्ट्रिक रिक्सा र सीसाको काम गर्ने जोगिन्दर भारतमा रसियन युवती तस्करी तथा देह व्यापारमा सक्रिय रहेको नेपाल प्रहरीको दावी छ।
जोगिन्दरसँग नेपाली र भारतीय दुवै नागरिकता छ। अपराधको दुनियाँसँगै भारतीय सुरक्षाकर्मीसँग उनको साँठगाँठ पनि छ। भारतीय सुरक्षाकर्मीका लागि भरपर्दा सुराकीसमेत हुन् उनी। उनका अपराधकर्मलाई नजरअन्दाज गर्दै नक्कली पैशा र भारत विरोधी गतिविधिको रिपोर्ट लिने गर्छ भारतीय सुरक्षा निकायले।
जोगिन्दरको नेपालका गुन्डा नाइकेदेखि राजनीतिक दलका नेतासँग पनि राम्रो 'नाता' रहेको प्रहरीको दावी छ।
जोगिन्दरसँग मनोजको भेट
नेपालको ज्वाइँ बनेपछि केही समय जोगिन्दर नेपालमै बसे। रुपन्देहीमा बस्दा सोम आलेसँग चिनजान भयो उनको। जोगिन्दर र आले मिल्ने साथी भए। जोगिन्दर भारतमा गएर अपराधिक दुनियामा छिरे। सोम आले पनि नेपालमै अपराधिक गतिविधिमा सक्रिय रहे। २०६२ साल कार्तिक २५ गते बुटवलको राममन्दिर लाइनमा रहेको प्रभु मनि ट्रान्सफरबाट पैसा लिएर निस्किँदै गरेका वुद्ध भण्डारीलाई गोली हानी मारेपछि आले समातिए र पाल्पा कारागार चलान भए। २०७३ साल जेठमा उनी छुटे। यही बीचमा आले र मनोज पुनको चिनजान भयो। जेलबाट छुटेका आले सिधै भारत पुगेर जोगिन्दरसँग काम गर्न शुरु गरे। मनोज पुन पनि रुपन्देही युवासँग अध्यक्ष माथि गोली प्रहार गर्नुभन्दा अगाडि नै भारत छिरेका थिए। सोम आलेले नै जोगिन्दरसँग मनोजको सम्बन्ध जोडेको प्रहरी अनुसन्धानमा देखिएको छ।
जोगिन्दरकै योजनामा पुनले नेपालमा अपराधिक गतिविधि गर्दै आएको देखिएको हो। पुनले जोगिन्दरकै निर्देशनमा भारमा बसेर इस्काइपबाट कल गरेर व्यपारीसँग रकम फिरौती माग्ने गरेको खुलेको छ। सोम आले पुनसँगैको इन्काउन्टरमा मारिएका छन्।
मनोज मारिएपछि जोगिन्दरको आँखामा को?
हिन्दु पौराणिक कथामा शुम्भ – निशुम्भ राक्षसको देवतासँगको युद्धको रोचक प्रसंग छ। यो युद्धमा रक्तबीज एउटा गजबको पात्र थियो जसको रगत भुईमा झर्दा अर्को जीव उत्पन्न हुन्थ्यो र देवताहरुसँग युद्धका लागि जान्थ्यो। अपराधको दुनियामा रक्तबीजहरु जन्मिनु सामान्यजस्तै हुने गर्छ। एक मारिए अर्को अपराधी तयार भइहाल्छ। प्रहरीलाई अहिले त्यही त्रास छ।पुन मारिएपछि जोगिन्दरले नेपाल अपराधिक गतिविधि गर्ने अर्को व्यक्ति जन्माइसके या जन्माउने तयारी गरिसकेको हुनसक्ने प्रहरीको अनुमान छ। नेपालबाट फरार भएर भारतमा लुक्दै आएका अभियुक्तलाई जोगिन्दरले हतियार बनाउने सम्भावना छ। करिब १० वर्ष अघि रुपन्देहीमा तारानाथ बोहराको हत्या गरी फरार रहेका फकिर रियाज, हत्या गरी फरार रहेका केदार सहनी, अर्जुन गौतम र कृष्ण गौतमलाई जोगिन्दरले अब आफ्नो ढाल बनाउने आशंका प्रहरीमा छ। र, त्यही अनुसार प्रहरीको सक्रियता बढेको छ उनीहरुको खोजीमा।