PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

सिरियामा दैनिक पाँच घण्टा युद्ध रोक्न पुटिनको निर्देशन, सबै पक्ष तयार भए मात्र पूर्ण युद्धविराम



पहिलोपोस्ट

सिरियामा दैनिक पाँच घण्टा युद्ध रोक्न पुटिनको निर्देशन, सबै पक्ष तयार भए मात्र पूर्ण युद्धविराम
File Photo: AP

मस्कोः रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्। 

सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। 

सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सबै पक्षलाई कम्तीमा ३० दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ। 

रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका शर्तहरू पालना गर्नुपर्नेमा जोड दिए। 

यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सेनालार्इ गुटा सहरस्थित विद्रोहीको कब्जा रहेको क्षेत्रमा हरेक दिन केही समयका लागि आक्रमण रोक्ने आदेश दिएको बीबीसीले जनाएको छ।

दैनिक कम्तीमा पनि  ५ घण्टाका लागि हुने युद्धविराम मंगलबारदेखि लागू हुने बताइएको छ। यसको उद्धेश्य युद्धका क्रममा फसेका नागरिकलार्इ विद्रोहीको कब्जा रहेको क्षेत्रबाट बाहिर निकाल्नु रहेको  छ।

सिरियाको राजधानी दमास्कसको नजिकै विद्रोहीको कब्जा रहेको गुटामा चार लाख नागरिक फसेका छन्। ती नागरिकलार्इ बाहिर ल्याउनका लागि रुसले बाटो तयार गर्ने भएको छ। यसलार्इ पुटिनले 'हुमानिटेरियन कोरिडोर' भनेका छन्। 

सिरियन अब्जवेटरी फर ह्युमन राइट्सका अनुसार बितेका १० दिनमा गुटामा ६०० बढी सर्वसाधरणको ज्यान गइसकेको छ।


सरकारी सेनामाथि अमेरिकी हतियारद्वारा आक्रमण

यता पूर्वी गुटामा सरकारी सेना माथि त्यहाँको विद्रोही पक्षले आक्रमणलार्इ समेत तीब्र पारेको छ। 

फार्स न्यूज एजेन्सीका अनुसार आत‌ंकवादी समूहले अमेरिकामा बनेका हतियारहरु सरकारी सेनाका विरुद्ध प्रयोग गरिरहेका छन्। 

ताहरिर अल सामका लडाकुले सिरियाली सैनिक बुल्डोजरलार्इ लक्षित गरी हर्सात क्षेत्रबाट आक्रमण गरिरहेको समाचारमा उल्लेख छ। सिरियाली बिद्रोही निकट स्रोतले खुलासा गरेको भन्दै फर्स न्यूजले बिद्रोहीले अमेरिकामा बनेको टीओडब्लु (ट्यूव लन्च, अप्टिकल्ली ट्र्याक्ड, वायर गाइडेड) मिसाइल प्रयोग गरी सरकारी सेनालार्इ निसाना बनाइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell