बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन ‘आसितेज इन्टरनेशनल’को एसिया बैठक सम्पन्न भएको छ। जापानको टोकियोमा नाट्य महोत्सवका साथ साना बालबालिकाका लागि रङ्गमञ्चको अवधारणा ‘थिएटर फर योङ्ग पिपल’बारे विमर्श भएको हो।
आसितेज एसियाको सो बैठकमा नेपालका तर्फबाट आसितेज नेपालका संस्थापक तथा अध्यक्ष दिपर्शन जंग राणा सहभागी भए। बैठकमा उनले नेपालमा बाल रङ्गमञ्च सम्बन्धी भइरहेका गतिविधिबारे जानकारी गराए।
'नेपाली बाल रङ्मञ्च सुरुवातकालिन समयमा रहेको छ', अध्यक्ष राणाले भने,'नेपाली रङ्गमञ्चमा बाल रङ्गमञ्चको चुनौती र अवसर उत्तिकै रहेको छ।' उनले बैठकमा नेपालमा ‘थिएटर फर योंग पिपल’को अवधारणामा रङ्गकर्मी, सम्बन्धित निकाय र अभिभावले ध्यान दिन सुरु भएको बताए।
एसियाका १२ देश र अन्तर्राष्ट्रिय आमन्त्रित प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले एसियाली बालबालिका र बाल रंगमञ्चका समस्या र अवसरबारे विमर्श गरेको थियो। बैठकबाट आसितेज इन्टरनेशनलको वार्षिक ‘आर्टिस्टिक ग्यादरिङ’ यसपटक आउँदो अगस्टमा एसियाकै चीनमा हुन लागेकोले तयारीमा जुट्न आह्वान गरेको छ। फेब्रुवरी २१ देखि एक सातासम्म भएको बैठकमा आसितेजका अन्तर्राष्ट्रिय अध्यक्ष, इभिटे हार्डी, महासचिव लुइस भ्यालेन्ट तथा चीन, वंगलादेश, जापान, श्रीलंका, थाइल्याण्ड, हङकङ, इरान, इजरायल, कोरिया, न्यूजिल्याण्ड, उज्वेकिस्तान लगायतका प्रतिनिधिहरु सहभागी थिए।
