PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दुई अर्ब रुपैयाँको चिनियाँ लगानीमा मकवानपुरमा आयुर्वेदिक उद्योग खुल्दै



अमर बडुवाल

दुई अर्ब रुपैयाँको चिनियाँ लगानीमा मकवानपुरमा आयुर्वेदिक उद्योग खुल्दै

काठमाडौं : चिनियाँ लगानीमा मकवानपुरको राक्सीराङ्ग गाउँपालिकामा दुई अर्ब रुपैयाँको आयुर्वेदिक उद्योग स्थापना हुने भएको छ।

सोनेङ हर्बल मेडिसिन प्रोडक्ट्सले आयुर्वेदिक औषधी बनाउने जडिबुटी पनि आफैँ उत्पादन गर्ने योजनासहित आएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले बताए। सानो विदेशी लगानी मात्रै आइरहेको बेला पछिल्लो समय आएको यो नै सबैभन्दा ठूलो विदेशी लगानीको उद्योग भएको पनि उनले जानकारी दिए।

मुख्य र शाखा गरी दुई उद्योग एकै पटक दर्ता भएका छन्। मुख्य उद्योगमा एक अर्ब ७६ करोड रुपैयाँ लगानी हुँदैछ। जुन जडिबुटीजन्य वस्तु उत्पादनमा मात्रै खर्च हुनेछ।शाखा उद्योगमा भने २४ करोड रुपैयाँ लगानी हुनेछ। जुन आयुर्वेदिक औषधी उत्पादनको लागि मेसिनरी इक्विपमेन्ट जडानमा खर्च हुनेछ।

कृषि तथा वनजन्य उद्योगमा सानो सानो स्वदेशी पूँजी मात्रै लगानी भइरहेको बेला दुई अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी एकै पटक आउनुले जडिबुटी जन्य उद्योगमा सम्भावनाको ढोका खुलेको विभागको दावी छ।

६० लाख ट्याबलेट उत्पादन गर्ने


कम्पनीले वार्षिक ६० लाख भन्दा बढी आयुर्वेदिक क्याप्सुल तथा ट्याबलेट उत्पादन गर्ने लक्ष्य लिएको छ। ४३ लाख ट्याबलेट र १८ लाख क्याप्सुल उत्पादन गर्नेछ। त्यसका साथै वार्षिक चार सय मेट्रिक टन हर्बल पाउडर पनि उत्पादन गर्नेछ।

सात हजार चार सय लिटर आयुर्वेदिक तेल, तीन सय टन सुख्खा हर्बल जडिबुटी र ‘ड्राइसर्फ लिक्विड’ १८ हजार लिटर उत्पादन गर्ने पनि लक्ष्य लिएको छ।

त्यसका साथै तीन सय किलोलिटर आयुर्वेदिक लिक्विड पनि उत्पादन गर्ने लक्ष्य लिएको छ। १० औं हजार मेट्रिक टन आयुर्वेदिक औषधी उत्पादनको क्षमता राख्ने सेनोङ्गले, नेपालमा औषधी उत्पादन गरि चिनियाँ बजारमा निर्यात गर्ने लक्ष्य लिएको छ।

उद्योगले दुई सय जना स्वदेशी तथा विदेशी नागरिकलाई प्रत्यक्ष रोजगारी दिनेछ। अप्रत्यक्ष रुपमा  सयौंले रोजगारी पाउने छन्। मकवानपुर जिल्लाको राक्सीराङ्ग गाउँपालिकामा स्थापना हुने उद्योगले उच्च पहाडी भेगमा पाइने जडिबुटीको खेती गरी आयुर्वेदिक औषधी उत्पादन गर्न लागेको हो। गत महिना मात्र विदेशी लगानी स्वीकृत गराएको सेनोङ्ग हर्बल मेडिसिनले फागुन ९ गते मात्रै विभागमा उद्योग दर्ता गराएको हो।

उद्योगमा चीनका ३० जना युवा उद्यमीहरुको लगानी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell