PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

नवाज शरीफका भाइको हातमा पाकिस्तानी सत्ताधारी दलको नेतृत्व



पहिलोपोस्ट

नवाज शरीफका भाइको हातमा पाकिस्तानी सत्ताधारी दलको नेतृत्व

इस्लामाबादः पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुश्लिम लिग- नवाज (पिएमएल-एन) को नेतृत्व बर्खास्त प्रधानमन्त्री नवाज शरीफका भाइको हातमा आएको छ। 

सर्वोच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पार्टीको नेतृत्वका लागि पनि अयोग्य ठहर गरेपछि उनका भाइ शहवाज सरिफ पिएमएल-एनको अन्तरिम अध्यक्षमा चयन भएका हुन्। 

गत हप्ता यहाँको अदालतले शरीफ पिएमएल-एनको अध्यक्ष हुन समेत अयोग्य रहेको फैसला सुनाएको थियो। 

आँफूलार्इ पार्टीको प्रमुख पदमा समेत बस्न अयोग्य ठहर गरिएपछि नवाज शरीफले नेतृत्वका लागि अन्तरिम अध्यक्षमा आफ्ना भाई शहवाज शरीफको नाम प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई दलको लाहोरमा भएको केन्द्रीय समितिले एकमतले अनुमोदन गरेको डन न्यूजले  जनाएको छ। 

पार्टीको अन्तरिम अध्यक्षमा चयन भएका शरीफ पञ्जाव राज्यको मुख्यमन्त्री समेत हुन्। दलले नवाज शरीफलाई दलको आजीवन नेताका रूपमा अनुमोदन गरेको छ। उनको दलमा कुनै पद नलिने बताइएको छ। 

भ्रष्टाचार आरोप लागेका पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई निर्वाचन ऐन २०१७ विपरीत दलको अध्यक्षमा रहेको जनाउँदै परेको निवेदनमाथि अन्तिम फैसला सुनाउँदै पाकिस्तानी सर्वोच्च अदालतले गत हप्ता उनलार्इ पिएमएल-एनको अध्यक्ष रहन अयोग्य ठहर गरेको थियो। यस अघि सोही आरोपमा अदालतले नै उनलाई प्रधानमन्त्री रहन अयोग्य घोषणा गरेको थियो। 

अदालतले संविधान बमोजिम अयोग्य ठहर भएको व्यक्तिले राजनीतिक दलको पनि कुनै पद लिनका लागि उपयुक्त नहुने ठहर गरेको थियो। पानामा लिक्समा उनी र उनको परिवारका सदस्यले भ्रष्टाचार गरेको खुलासा भएको थियो। 

योसँगै शहबाजलार्इ आगामी मे १८ मा हुने निर्वाचनमा प्रधानमन्त्री पदको उम्मेदवार बनार्इने सम्भावना समेत बढेर गएको छ। 

यसैबीच पाकिस्तानमा एक महिनाभित्र 'केयर टेकर' सरकार गठन हुने भएको छ। निर्वाचन सम्पन्न गराउनका लागि सरकार गठनको तयारी भएको हो। 

प्रधानमन्त्री शाहीद खाकान अब्बासीले अन्तरिम सरकार गठनका लागि छलफललार्इ अगाडि बढाएको डन न्यूजले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell