PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

नेपालको सहमति बिना भारतले बनायो महाकालीमा पुल



पहिलोपोस्ट

नेपालको सहमति बिना भारतले बनायो महाकालीमा पुल

दार्चुलाः भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ। केही महिना पहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको हो।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो। दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायी रुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन्।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन्। भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्रयाक खोल्ने कार्य गरिरहेको छ। केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ। भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ। डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ। नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिए।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्ने भएको थियो।

काठेपुल निर्माण गरे/नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो।

“सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन, प्रजिअ गौतमले भने।

पुल निर्माण नेपालको मानव बस्तीभन्दा माथि छ। दुम्लिङभन्दा माथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन्। व्यासको वडा नम्बर २ को दुम्लिङ बस्तीभन्दा माथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन्।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी नेतृत्वको टोलीले आफूहरुले समेत प्रयोग गर्नेगरी काठे पुल लगाउनुपर्ने माग गरेका छन् । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell