काठमाडौं: एघार वर्षीय गायक अधिश्री कसपालको गीत ‘छोरी अन्माउँदा’को सार्वजनिक भएको छ। मङ्गलबार भिडियोसहित गीतको एल्बम लोकार्पण भएको हो।
सार्वजनिक भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले फिचरिङ रहेको छ। गीतमा सुरेश अधिकारीको संगीत र सुभाषचन्द्र ढुंगेलको शब्द छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ।
गीतका संगीतकार सुरेश अधिकारीले अधिश्रीको गायन कलाको तारिफ गर्दै भने,'उसले एउटा परिपक्क गायकले गाए जसरी गीत गाइदियो।’ उनले गीत सार्वजनिक गर्दा गायक अधिश्रीका लागि भन्दा पनि आफ्ना लागि जाँच दिएको परीक्षार्थी जस्तै बनेको बताए। अधिकारीले अधिश्रीको जस्तै संगीतमा रुची राख्ने बालबालिकालाई परिवारको सहयोग र सद्भाव आवश्यक रहने बताए।
संगीतकार, गायक तथा रचनाकार दीपक जंगमले आफ्नो समयमा बाल्यअवस्थामा गीत गाउनु निकै चुनौतिपूर्ण रहेको स्मरण गरे। ‘हाम्रो पालामा गीत गाउनु भनेको निकै गाह्रो थियो । आफैले संगीतका गुरु खोज्नुपथ्र्यो,’उनले भने,‘तर अहिले समय फेरिएको छ । अहिले परिवारको सहयोगले गायकगायिकालाई संगीतमा आउन सजिलो भएको छ।’
कार्यक्रममा अधिश्रीले ‘छोरी अन्माउँदा’ र ‘अरुलाई निचो देखाउन खोजेर’ बोलको गीत गाएका थिए। गीत ‘अरुलाई निचो देखाउन’मा हरि लम्सालको संगीत र सुवासचन्द्रको शब्द छ।