
चितवनः मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच चितवनमा कार्यगत एकता गर्ने सहमति भएको छ।
दुर्इ पार्टीको जिल्ला समितिको मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो।
नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो। दुबै पार्टीले कार्यगत एकताका लागि चार बुँदे सहमति भएको छ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा (क्रान्तिकारी माओवादी)की जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर प्रश्न उब्जिएकाले एकता गरेर अघि बढ्ने उल्लेख गरिएको छ।
सार्वजनिक गरिएको चारबुँदा सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने शहीद सप्ताह संयुक्तरुपमा मनाउने, फागनु १९ गते शहीद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्तरुपमा कार्यक्रम अघि बढाउने उल्लेख छ।
यस्तै देशभर भइरहेको कार्यकर्ताको गिरफ्तारी र ज्यादतीको खेद व्यक्त गर्दै संयुक्तरुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने विज्ञप्तिमा जनाइएको छ।