PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

पौराणिक कथाको प्रतिकात्मक प्रस्तुति नाटक: ययाति



पहिलोपोस्ट

पौराणिक कथाको प्रतिकात्मक प्रस्तुति नाटक: ययाति

नाटक 'ययाति' रानी देव्यानी र दासी सरवर्णलताको वार्तालापबाट सुरु हुन्छ। उनीहरु बिचको संवादले घटनाको पृष्ठभूमी बारे प्रष्ट पार्छ। बाल्यकालको साथी तर सुसारेको रुपमा दरबार भित्रिएकी शर्मिष्ठाको दरबारप्रवेश र राजासँगको उसको अनैतिक सम्बन्धको प्रसङ्गले नाटकलाई अघि बढाउँछ। राजा ययातीले शर्मिष्ठासँग राखेको सम्बन्धका कारण देव्यानी र शर्मिष्ठाबिच द्वन्द्व सिर्जना हुन्छ।

रानी देव्यानीलाई विवाह गरेपछि अन्य स्त्रीसँग शारीरिक सम्बन्ध नराख्ने बाचा राजा ययातिले गरेका हुन्छन्। तर सुसारे तथा राजा वृषपर्भाकी छोरी शर्मिष्ठाकोप्रतिको आकर्षणले राजाको बाचा पुरा गर्न दिंदैन। र शर्मिष्ठालाई आफ्नी रानी बनाउने घोषणा गर्छन्। देव्यानी राजाको शर्मिष्ठासँगको सम्बन्ध कुनैपनि हालतमा स्विकार्न सक्दिनन् र द्वन्द्व चुलिन्छ। राजाले पनि आफ्नो हठ नछोडेपछि देव्यानी बुवा शुक्राचार्यसँग दरबार छोडेर निस्कन्छिन्। जाँदाजाँदै शुक्राचार्यले ययातिलाई सूर्यास्तसँगै वृद्ध हुनुपर्ने श्राप दिन्छन्। तर राजा कुनैपनि हालतमा वृद्ध हुन चाहदैनन्।



त्यसैले राजा ययातिले युद्ध विद्या भएकी चित्रलेखा विवाह गरेर दरबार भित्रिएका राजकुमार पुरुलाई श्राप निवारणको उपाय खोज्न पठाउँछन्। समस्या समाधानको उपाय भेटिन्छ। कसैले ययातिको वृद्धापन धारण गर्नुपर्ने। तर प्रजाका कोही पनि तयार हुँदैनन्। अन्तत:  राजकुमार पुरुले नै बुवाको वृद्धावस्था धारण गर्छन्। ययाति तरुण अवस्थामै रहन्छन् र पुरु वृद्ध र अशक्त हुन्छन्। जसको असर पर्छ भर्खरै विवाह भएर भित्रिएकी चित्रलेखामा। जो चिन्तित, क्रोधित हुन्छिन्। ययातिले केही वर्षमै उनको पतिको युवावस्था फिर्ता गर्छु भनेर सम्झाउन खोजेपनि चित्रलेखालाई महिला र वासनाप्रति असामान्य लगाव भएको ययातिको कुराले प्रभाव पार्दैन। बरु उनले सम्बन्धमा ससुरा रहेका ययातिलाई नै आफूलाई स्विकार्न चुनौती दिन्छिन्। ययातिको लागि चित्रलेखाको प्रस्ताव नैतिक परीक्षाको घडी ठहरिन्छ।

चित्रलेखाको प्रश्नहरुले राजा ययातिलाई आफ्नो काम वासना र जवानीप्रतिको लगाव बेकारको भएको भान हुन्छ। त्यसपछि सिर्जना हुने घटना नाटकले दिने संदेशको केन्द्र हो।

पौराणिक कथाबाट परिकल्पना गरिएको नाटक प्रतिकात्मक छ। जसले मानिसभित्र निहित जीवन र भोग प्रतिको अतिशय मोह र क्रोध, लोभ, भय लगायतको स्वभावलाई पात्र र घटनाहरुमार्फत बिम्बात्मक रुपमा चित्रण गर्छ। 

घिमिरे युवराज राजा ययातिका रुपमा देखिएका छन्। त्यस्तै देव्यानी बनेकी छिन् सरस्वती अधिकारी, पवित्रा खड्काले शर्मिष्ठाको भूमिका निभाएकी छिन् भने चित्रलेखकाको भूमिकामा अर्चना पन्थी र पुरुको भूमिकामा प्रकेश सिन्धुलीय देखिएका छन्। यी पात्रहरुको जिवन्त अभिनय र मनोविज्ञानले मिथकिय कथाको सजिव चित्रण गर्छ। हरेक पात्रहरुको भूमिका महत्वपूर्ण लाग्छ। राजा ययाति पात्रले मान्छेभित्र तृप्त जवानीप्रतिको भोक, दिव्यानीले नारी अस्मिता र सहनशिलता, शर्विष्ठाले क्रोध र बदलाको संदेश दिन्छन्। सशक्त पात्र हुन् स्वर्णलता। नाटकमा उनी एक सुसारे मात्र नभएर दरबारभित्र हुने हरेक घटनाको मूकदर्शक समेत हुन्। उनी मञ्चमा थोरै देखिन्छिन् तर हरेकपटक देखिंदा उनको संवाद र अभिनयले कुनै महत्वपूर्ण संदेश दिन्छ।

नाटक अवधीभर मञ्चको सेटिङ परिवर्तन हुँदैन तर पनि निर्देशकले पात्रहरुलाई घटनासँग खेल्न लगाएका छन्। जसका कारण दर्शकलाई दरबारभित्रको एउटा कक्षमा नाटक मञ्चन भइरहेको भान हुँदैन।  

महाभारतमा उल्लिखित राजा ययातिको कथालाई नाटकको रुप दिए भारतीय लेखक गीरिश कर्नाडले र उक्त नाटक 'ययाति'लाई नेपाली भाषामा अनुवाद तथा निर्देशन गरे टङ्क चौँलागाईले। नाटक ययाति इतिहासको कथा प्रस्तुति मात्र नभएर मान्छेभित्र रहेका डर, करुणा भाव, जीवन दर्शन अनुभुतीको मौका हो। जसले मान्छेभित्र निहित अनेक भय, करुणा, अतिशय मोह, लोभ र गुमाउनुको त्रास बारे छरलङ्ग पार्छ। घटनाहरुलाई जोड्दै, पात्रहरुलाई महसुस गराउँदै लेखक, निर्देशक र कलाकारले जीवनसहित जीवनमा जोडिने हरेक अवस्था अनित्य र अस्थिर भएको प्रष्ट पार्छन्।  

नाटक ययाति काठमाडौं शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको छ। प्रज्ञा थिएटरको प्रस्तुति रहेको नाटक चैत ३ गतेसम्म चल्नेछ। नाटक मंगलबार बाहेक हरेक साँझ ५ बजेबाट सुरु हुनेछ। त्यस्तै शनिबार १:३० बजेपनि नाटकको अतिरिक्त सो मञ्चन हुनेछ। 

फोटोहरु: शिल्पी थिएटरको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell