PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप : नयाँबजार र मणीमुकुन्द क्वाटरफाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप : नयाँबजार र मणीमुकुन्द क्वाटरफाइनलमा

काठमाडौं : चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा नयाँबजार सामाजिक युवा क्लब र मणीमुकुन्द क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधवार भएको अन्तिम लिग खेलमा नयाँबजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनायो।

नयाँबजारले प्रतिस्पर्धात्मक खेलमा काभ्रेलाई २५–१७, २७–२५, २६–२४ को सेटमा हराउँदै त्रिभुवन आर्मीसँग क्वाटरफाइनलमा भेट पक्का गर्‍यो। अर्को खेलमा मणीमुकुन्दले पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराउँदै समूह ए बाट उपविजेताको रुपमा अन्तिमा आठमा स्थान बनायो।

पहिलो सेट २५–१८ ले जितेको मणीमुकुन्दले दोश्रो सेट २१–२५ ले गुमाए पनि तेश्रो र चौथो सेट २५–१८ र २५–१५ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो।

मणीमुकुन्दले क्वाटरफाइनलमा एपीएफको सामना गर्ने छ। पुरुषतर्फको अन्तिम लिग खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठलाई २५–२०,२५–१७,१९–२५,२५–२३ को सेटमा हराउँदै समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ। जावलाखेलले अब हेल्पनेपाल स्पोर्टस् क्लबसँग क्वाटरफाइनल खेल्नेछ।

त्यसैगरी अर्को क्वाटरोफाइनल खेल नेपाल पुलिस र ढोरपाटन बीच हुनेछ।

यस्तै महिलातर्फ शिवम् न्यू डायमण्ड आर्मीलाई २५–१५,२५–११, २५–२० को सेटमा पराजित गर्दै समूह बी को विजेता बनेर सेमिफाइनमा प्रवेश गरेको छ। महिलाको अर्को खेलमा पद्मोदय युथ क्लब चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हराउँदै सान्वना जित हात पार्‍यो।

पद्मोदयले ढोरपाटनलाई १९–२५, २५–१६,२५–९, २५–२० को सेटमा हराएको थियो।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छन्। प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन्।

प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell